जेनजीको प्रदर्शनले बानेश्वर ठप्प, प्रहरी ब्यारिकेडसामु चर्को नाराबाजी

जेनजीको प्रदर्शनले बानेश्वर ठप्प, प्रहरी ब्यारिकेडसामु चर्को नाराबाजी

काठमाडौं : सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको ‘जेनजी’को प्रदर्शन नयाँ बानेश्वरमा पुगेको छ।

हजारौंको संख्यामा नाराबाजी गर्दै अघि बढेका युवाहरूलाई प्रहरीले बानेश्वर चोकमा ब्यारिकेड लगाएर रोकेको हो। प्रहरीको ब्यारिकेडसामु प्रदर्शनकारीहरूले चर्को नाराबाजी गर्दै सरकारको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।

‘हामीलाई बोल्न देऊ सरकार’, ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘असन्तुष्टि चरम छ, नेताको खल्ती गरम छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरू सडकमै बसेका छन्।

प्रदर्शनका कारण बानेश्वर क्षेत्रको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

बिहान माइतीघर मण्डलामा स्वतःस्फूर्त रूपमा भेला भएका युवायुवती राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका हुन्।

सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरू आफ्नो अभिव्यक्ति माध्यम नै बन्द गरिएपछि सडकमा आउन बाध्य भएको बताउँछन्। प्रदर्शनमा सहभागी अधिकांशले आफूहरू पहिलोपटक कुनै आन्दोलनमा सहभागी भएको बताएका छन्।

यो प्रदर्शन काठमाडौंमा मात्र सीमित छैन। काठमाडौं उपत्यका बाहिर पोखरा, बुटवल, विराटनगर, दाङलगायतका जिल्लामा पनि युवाहरूले सरकारको निर्णयविरुद्ध सडकमा उत्रिएर विरोध जनाएका छन्।

आयोजक युवाहरूले प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र गैर-राजनीतिक हुने स्पष्ट पारेका छन्। उनीहरूले सार्वजनिक सम्पत्तिमा क्षति नपुऱ्याउने र सभ्य भएर आफ्नो आवाज राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदर्शनमा कुनै राजनीतिक भाषण वा कोणसभाको कार्यक्रम नरहेको उनीहरूको भनाइ छ।

भदौ २३, २०८२ सोमबार ११:३२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।