
१७ तस्बिरमा हेर्नुस् माइतीघरमा ‘जेन जी’को प्रदर्शन

काठमाडौं : सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ता (जेन जी) देशव्यापी रूपमा सडकमा उत्रिएको छ।
सोमबार बिहानैदेखि काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्त रूपमा भेला भएका हजारौँ युवाहरूको प्रदर्शनले राजधानीको ध्यान तानेको छ भने काठमाडौं उपत्यका बाहिर रुपन्देही र दाङलगायतका जिल्लामा पनि विरोध प्रदर्शन सुरु भएको छ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका युवाहरूले ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’ जस्ता राष्ट्रभक्ति गीत गाउँदै सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रदर्शनमा कलेज र विद्यालयको पोशाकमै सहभागी भएका विद्यार्थीहरूको उपस्थिति बाक्लो छ।
प्रदर्शनकारीहरूले बोकेका प्लेकार्डमा ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ‘हामीलाई बोल्न देऊ सरकार’ र ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका छन्।
प्रदर्शनमा सहभागी अधिकांशले आफूहरू पहिलोपटक प्रदर्शनमा सहभागी भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत व्यवसाय गरेर आत्मनिर्भर बनिरहेका युवाहरूको रोजीरोटी सरकारले खोसेको उनीहरूको भनाइ छ।
सामाजिक सञ्जालमार्फत नै आह्वान गरिएको यो प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने आयोजक युवाहरूले बताएका छन्। उनीहरूले राजनीतिक दलका नेता-कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने स्पष्ट पारेका छन्।
प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, रुख-बिरुवा नभाँच्ने, आगजनी वा तोडफोड नगर्ने र सभ्य भएर प्रस्तुत हुने प्रतिबद्धता उनीहरूले जनाएका छन्। प्रदर्शनपछि कुनै कोणसभा वा भाषणको कार्यक्रम नरहेको र आफ्नो आवाज शान्तिपूर्ण रूपमा राख्ने उनीहरूको भनाइ छ।
भदौ २३, २०८२ सोमबार ११:१६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।