
१२ हजार गीत गाइसकेकी आशा भोसले : १६ वर्षको उमेरमा भागेर विवाह गरिन्, खराब आवाज भन्दै रातको २ बजे स्टुडियोबाट निकालिइन्

एजेन्सी : भारतीय दिग्गज गायिका आशा भोसलेको जादुमयी आवाजले हरेक शैलीका गीतहरूमा जीवन भरेको छ। ९२ वर्षको उमेरमा पनि उनको स्वरमा उस्तै मिठास छ, जसले आज पनि करोडौँ श्रोताको मनमा राज गर्छ।
आफ्नो साङ्गीतिक यात्रामा १२ हजारभन्दा बढी गीत गाएकी आशाका लागि यो सफलताको बाटो कहिल्यै सहज थिएन। उनको जीवन सङ्घर्ष, पीडा र असाधारण साहसको कथा हो।
प्रसिद्ध थिएटर कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र स्वरसम्राज्ञी लता मंगेशकरकी बहिनी आशाले केवल ९ वर्षको उमेरमा आफ्ना पितालाई गुमाउनुपर्यो। परिवारलाई साथ दिन उनले दिदी लतासँगै गीत गाउन थालिन्।
तर, उनको जीवनले नाटकीय मोड तब लियो, जब १६ वर्षको उमेरमा उनले परिवारको इच्छाविपरीत भागेर दिदी लताका ३१ वर्षीय सेक्रेटरी गणपतराव भोसलेसँग विवाह गरिन्। यो निर्णयले लता मंगेशकर यति दुःखी भइन् कि उनले बहिनीसँगको नाता नै तोडिन्।
विवाहपछि आशाको जीवन झनै कष्टकर बन्यो। श्रीमान् र घरमाबाट हुने दुर्व्यवहार र घरेलु हिंसाले उनी मानसिक र शारीरिक रूपमा विक्षिप्त भइन्। जीवनबाट यति निराश भइन् कि उनले आत्महत्याको प्रयाससमेत गरिन्।
आफ्नो एक अन्तर्वार्तामा आशाले भनेकी थिइन्, ‘गणपतरावको परिवार निकै रूढिवादी थियो र उनीहरूले एक गायिकालाई बुहारीको रूपमा स्वीकार्न सकेनन्। ममाथि निकै दुर्व्यवहार भयो।’
गर्भवती अवस्थामा समेत उनीमाथि हातपात हुन्थ्यो र कैयौँपटक अस्पताल भर्ना हुनुपरेको थियो। जब उनी आफ्नो तेस्रो सन्तानलाई जन्म दिँदै थिइन्, उनलाई घरबाट निकालियो।
आर.डी. बर्मनसँगको प्रेम र दोस्रो विवाह
गणपतरावसँगको ११ वर्षे सम्बन्ध सन् १९६० मा समाप्त भयो। त्यसको केही वर्षपछि उनको जीवनमा प्रसिद्ध सङ्गीतकार आर.डी. बर्मनको प्रवेश भयो। सन् १९६६ मा फिल्म ‘तिसरी मञ्जिल’ को गीत रेकर्डिङका क्रममा भेट भएका उनीहरूको मित्रता प्रेममा बदलियो।
बर्मनले आशालाई विवाहको प्रस्ताव राखे, तर बर्मनकी आमाले यो सम्बन्ध अस्वीकार गरिन्। आशा बर्मनभन्दा ६ वर्ष जेठी र तीन बच्चाकी आमा भएकाले उनले भनिन्, ‘यो बिहे मेरो लाशमाथि मात्र हुनेछ।’
तर, बुबा एस.डी. बर्मनको निधनपछि आमाको मानसिक अवस्था बिग्रियो र उनलाई सुधार्न बर्मनले सन् १९८० मा आशासँग विवाह गरे।
‘राति २ बजे स्टुडियोबाट निकालियो’
आशाको विशेषता भनेकै उनले हरेक प्रकारका गीत- चाहे त्यो रोमान्टिक होस्, क्याबरे, गजल वा शास्त्रीय सङ्गीत। सबैमा आफूलाई ढालिन्। तर, करियरको सुरुवाती दिनमा उनले अपमान पनि सहनुपर्यो।
एकपटक किशोर कुमारसँग राज कपुर र नर्गिस अभिनित फिल्म ‘जान पहिचान’ को गीत रेकर्ड गर्न जाँदा उनलाई ‘खराब आवाज’ भन्दै स्टुडियोबाट निकालिएको थियो।
उनले एक अन्तर्वार्तामा त्यो घटना सम्झँदै भनेकी थिइन्, ‘रातको २ बजे हामीलाई स्टुडियोबाट निकालियो। किशोर दा निकै दुःखी हुनुहुन्थ्यो। मैले उहाँलाई सान्त्वना दिँदै भनेँ- दादा, तपाईंको आवाजलाई कसैले रोक्न सक्दैन।’
आशा भोसलेको आवाज जति सुमधुर छ, उनको हातले बनाएको खाना पनि उत्तिकै स्वादिष्ट छ। उनी भन्छिन्, ‘गायिका नभएको भए म पक्का कुक हुन्थेँ।’
दिवंगत अभिनेता ऋषि कपुर उनको हातले बनाएको शामी कबाब र कढाई गोश्तका ठूला प्रशंसक थिए।
आफ्नो यही रुचिलाई उनले व्यवसायमा परिणत गरिन्। दुई दशकअघि दुबईमा ‘आशाज्’ नामबाट रेस्टुरेन्ट खोलेकी उनको व्यवसाय आज कुवेत, अबुधाबी, दोहा र बहराइनजस्ता देशहरूमा फैलिएको छ। उनी आफ्नो रेस्टुरेन्टका शेफहरूलाई आफैँ ६ महिनासम्म तालिम दिन्छिन्।
९०औं जन्मदिनमा दुबईमा आयोजित एक साङ्गीतिक कार्यक्रममा उनले भनेकी थिइन्, ‘उमेर त केवल एउटा अङ्क हो, मन सधैँ जवान रहन्छ। म आज पनि उभिन्छु, गीत गाउँछु र आफ्ना बच्चाहरूका लागि खाना पकाउँछु।’
भदौ २३, २०८२ सोमबार १०:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।