
सरकारको निर्णयविरुद्ध कलेज ड्रेसमै सडकमा उत्रिए ‘जेन जी’

काठमाडौं : सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ता (जेन जी) सडकमा उत्रिएको छ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा स्वत:स्फूर्त रूपमा भेला भएका युवाहरूले सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएका छन्।
प्रदर्शनमा सहभागी अधिकांश युवाहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘असन्तुष्टि चरम छ, नेताको खल्ती गरम छ’, ‘सरकार तिम्रो पाराले दुःख पाए साराले’, ‘अनलाइन ब्यान भए अफलाइन आउँछौ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
कलेज र स्कुलको पोशाकमै सडकमा उत्रिएका विद्यार्थीहरूले यो प्रदर्शनलाई थप सांकेतिक बनाएका छन्।
पहिले सामाजिक सञ्जालका पोस्ट र टिप्पणीमा सीमित देखिने राजनीतिक नेतृत्वप्रतिको आक्रोशलाई ‘जेन जी’ पुस्ताले पहिलोपटक सडक प्रदर्शनमार्फत अभिव्यक्त गरेको हो।
उनीहरूको यो अभियानलाई विभिन्न राजनीतिक दलका प्रतिनिधि, कलाकार, विभिन्न पेशाकर्मी तथा स्वतन्त्र युवाहरूले समेत समर्थन जनाएका छन्।
भदौ २३, २०८२ सोमबार ०९:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।