
दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको कीर्तिमानी जित, एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा फराकिलो हार

एजेन्सी : एकदिवसीय क्रिकेट सिरिज जितेर पनि दक्षिण अफ्रिकी टोलीले आइतबार इंग्ल्यान्डसँग एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोरेको छ।
साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले ३४२ रनको अप्रत्याशित हारको सामना गर्यो।
खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि जो रुट (१००) र जेकब बेथेल (११०) ले शानदार शतक प्रहार गरे भने जेमी स्मिथ र जोस बटलरले समान ६२ रनको अर्धशतकीय पारी खेलेका थिए।
इंग्ल्यान्डले दिएको ४१४ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली मात्र ७२ रनमा समेटियो।
यो एकदिवसीय क्रिकेटको ५४ वर्षे इतिहासमा कुनै पनि टोलीले बेहोरेको सबैभन्दा फराकिलो हार हो। दक्षिण अफ्रिकाका सात ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् भने टोलीका लागि सर्वाधिक २० रन कोर्बिन बोशले बनाए।
हारपछि दक्षिण अफ्रिकाका प्रशिक्षक शुक्री कोनराडले यसलाई ‘लज्जास्पद’ भनेका छन्। यस्तै, कप्तान टेम्बा बावुमाले भने, ‘हालैका एकदिवसीय सफलताहरूलाई यो प्रदर्शनले न्याय गर्दैन।’
चोटका कारण कप्तान बावुमा ब्याटिङका लागि मैदानमा उत्रिएका थिएनन्।
यो लज्जास्पद हारका बावजुद दक्षिण अफ्रिकाले पछिल्लो एक महिनामा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलिया र इंग्ल्यान्ड दुवैलाई २-१ ले पराजित गरेको थियो।
अफ्रिकी टोलीले सन् १९९८ पछि पहिलो पटक इंग्ल्यान्डमा सिरिज जितेर इतिहास रचेको थियो, तर सिरिजको अन्तिम खेलमा भोगेको यो हार टोलीका लागि अविस्मरणीय रहनेछ।
भदौ २३, २०८२ सोमबार ०८:५७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।