सामाजिक सञ्जालमाथिको प्रतिबन्धको बचाउ गर्दै उपप्रधानमन्त्री सिंहले भने- ‘नियमनका लागि हो, सधैँका लागि होइन’

सामाजिक सञ्जालमाथिको प्रतिबन्धको बचाउ गर्दै उपप्रधानमन्त्री सिंहले भने- ‘नियमनका लागि हो, सधैँका लागि होइन’
फाइल तस्बिर

काठमाडौं : सरकारले फेसबुक, युट्युब र एक्सलगायतका २६ वटा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले चौतर्फी आलोचना भइरहेका बेला उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त विवादास्पद निर्णयको बचाउ गरेका छन्।

त्रिवि क्रिकेट स्टेडियममा भएको कामको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो प्रतिबन्ध सधैँका लागि नभई नियमनको उद्देश्यले लगाइएको दाबी गरे। मन्त्री सिंहले नेपालमा सञ्चालित सबै निकायले नेपाली कानुन मान्नुपर्ने तर्क प्रस्तुत गरे।

उनले भने, ‘नेपालमा बसेर नेपाली भइसकेपछि नेपालको कानुनलाई त हामी सबैले मान्नुपर्छ नि त! रेडियो, पत्रपत्रिका र अनलाइन दर्ता गर्नुपर्ने तर सोसल मिडिया चाहिँ केही गर्नै नपर्ने भन्ने त हुँदैन।’

उनले परम्परागत मिडियालाई जस्तै सामाजिक सञ्जाललाई पनि कानुनी दायरामा ल्याउन खोजिएको उल्लेख गरे।

सरकारको कदमको बचाउ गर्दै उनले यो प्रतिबन्ध अस्थायी भएको दाबी गरे।

‘नेपालमा सञ्चालनमा रहेका सोसल मिडियालाई रेगुलेट गर्नका लागि पनि हाम्रा विधि, प्रक्रिया अनुसार दर्ता गर्नका लागि अहिले बन्द गरिएको हो,’ मन्त्री सिंहले भने, ‘यो चाहिँ टोटल्ली बन्दै गर्नका लागि होइन कि रेगुलेट गर्नका लागि अहिलेको लागि बन्द गरिएको हो।’

उनले शुरूमा केही असहजता भए पनि दीर्घकालमा यसले मिडिया क्षेत्रलाई नै प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

यद्यपि, ‘नियमन’ को नाममा एकाएक सामाजिक सञ्जालहरू पूर्ण रूपमा बन्द गर्ने सरकारी कदमको औचित्यमाथि गम्भीर प्रश्नहरू उठेका छन्।

सरकारको यो निर्णयसँगै ‘जेनजी’ पुस्ताले आज सडक आन्दोलन गर्दैछ भने टिकटकलगायतका अन्य सञ्जालमा सरकारी निर्णयको चर्को आलोचना भइरहेको छ।

सरकारको यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउनुका साथै डिजिटल प्लेटफर्ममा आधारित हजारौँ व्यवसाय र रोजगारीलाई समेत संकटमा पारेको भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ।

भदौ २३, २०८२ सोमबार ०८:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।