सन्ध्या नेपालको प्रसव पीडा र खुसी : विवाहको १४ वर्षपछि सन्तान सुखको आनन्द वर्णन गर्नै नसकिने रहेछ

सन्ध्या नेपालको प्रसव पीडा र खुसी : विवाहको १४ वर्षपछि सन्तान सुखको आनन्द वर्णन गर्नै नसकिने रहेछ

सन्ध्या नेपाल अहिले निकै खुसी छिन्, रमाइरहेकी छिन्। समाजको अगाडि ‘पूर्ण’ भएकी उनलाई पहिलाको जति तनाव पनि छैन। आफ्नो जीवनको अमूल्य समय ‘अपूर्ण’ भएको महसुस गर्दै बिताएकी उनी अहिले आफ्नो लागि पर्याप्त समय दिइरहेकी छन्। कारण, विवाह गरेको १४ वर्षपछि उनी आमा बनिन्।

‘विवाह गरेकै सन्तान जन्माउनका लागि हो र सन्तान हुनु नै पूर्ण हुनु हो’ भन्ने गलत भाष्यले उनलाई पलपल तड्पाइरह्यो। समाजबाट सहानुभूति पाउनु त परको कुरा, उल्टै सन्तान हुने तरिका भन्दै ​​​​​​नमागिएको सुझावको ओइरो लगाउँथे।

अहिले स्वास्थ्य विज्ञानले निकै सामान्य मान्न थालेको पीसीओडी (पोलिस्टिक ओभरियन डिजिज) उनलाई पनि भयो। पीसीओडी भएका महिलाको अण्डाशयले सामान्यभन्दा बढी सङ्ख्यामा अण्डाणु उत्पादन गर्छ, जुन तुलनात्मक रूपमा अपरिपक्व हुन्छन् र त्यसभित्र स-साना सिस्ट जमेर बस्छन्।

पीसीओडीलाई पीसीओएस (पोलिस्टिक ओभरी सिन्ड्रोम) को प्रारम्भिक रूप मानिने भएकाले विश्व स्वास्थ्य सङ्गठनले यसलाई छुट्टै रोगको रूपमा परिभाषित गरिसकेको छैन। सङ्गठनको तथ्याङ्कअनुसार पीसीओएसबाट संसारभर ७० प्रतिशत महिलाहरू प्रभावित छन्।

यसबारे सामान्य ज्ञान नहुँदा धेरै महिलाहरूले लैङ्गिक विभेदको सामना गर्नुपरेको छ, जसबाट सन्ध्या पनि टाढा रहन सकिनन्। तर, अहिले उनी दुई सन्तानकी आमा हुन्।

आमा भएसँगै उनी अहिले सबैको नजरमा ‘पूर्ण’ भएकी छन्। तर, उनलाई त्यतिले मात्र सन्तुष्टि मिलेको छैन। आफ्ना सपना पूरा गर्न नपाएकी उनी बिस्तारै फेरि सपना देख्न थालेकी छन्। कलामार्फत आफ्नो रुचिको विषयमा उनी सक्रिय भएकी छन्।

हालै सम्पन्न मिसेस ग्लोबल नेपालको ‘फस्ट रनरअप’ पनि हुन् उनी। आफ्नै व्यवसायलाई पनि अगाडि बढाइरहेकी छन्। धनुषाको दुर्गम गाउँबाट आएर निकै लामो समयपछि आफ्नो व्यावसायिक यात्रामा अगाडि बढेकी उनै सन्ध्याले उकेराको साप्ताहिक स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी साटिन्:

०००

म एकल आमाको छत्रछायाँमा हुर्किएँ। मेरो ममीको पनि सानैमा विवाह भएको रहेछ। नचाहँदा नचाहँदै पनि म जन्मिएछु। म जन्मिएको केही समयपछि नै उहाँ एकल महिलाको रूपमा बस्नुभयो। उहाँ अस्थायी शिक्षिका हुनुहुन्थ्यो। उपदानपश्चात् बिदा लिएर उहाँ सेवानिवृत्त हुनुभयो।

शिक्षिका भए पनि एकल महिला हुनुभएकै कारण मेरो ममीले धेरै सामाजिक बहिष्करणको शिकार हुनुपर्यो। धनुषा जिल्लाको बटेश्वर गाउँमा उहाँले पढाउनुहुन्थ्यो। मेरो बाल्यकाल पनि त्यहीँ नै बितेको हो। पछि उहाँले आफ्नो हकअधिकारका लागि लड्नुभयो र अंशको मुद्दा पनि जित्नुभयो। मुद्दा जितेपछि हामीले जनकपुरमा घर पनि पायौँ।

त्यहीँ पढ्दै गर्दा १२ कक्षा सकेपछि मेरो विवाह भयो। मेरो श्रीमान्ले मलाई पहिल्यैदेखि मन पराउनुभएको रहेछ। एकल महिलाले हुर्काइरहेको सन्तान र आमा आफैँलाई पनि जीवन त्यति सहज नहुने रहेछ, त्यसैले मैले उहाँको विवाहको प्रस्ताव स्वीकार गरेँ। गाउँमा त आफूले चाहेको केही काम गर्न पाउनु हाम्रो सोचबाहिरको कुरा थियो। जे कुरामा पनि समाजबाट रोकटोक हुन्थ्यो।

हाम्रो पुरुषप्रधान समाजमा घरमा पुरुष, बुवा वा दाजुभाइ भएन भने हामी छोरीहरूसँगै आमाले पनि धेरै हेपाइ सहन परेको अनुभव गर्नुपर्यो। त्यस हिसाबले कुरा गर्नुपर्दा मेरो विवाहपछि मात्र मैले स्वतन्त्रता महसुस गर्न पाएँ भन्ने लाग्छ। मेरो श्रीमान् एकदमै खुला सोचको हुनुहुन्छ।

उहाँले मलाई मन पर्ने कपडा लगाउन, काम गर्न कुनै पनि कुरामा नियन्त्रण गर्नुभएन। त्यसैको उपज हो, हाम्रो लामो समय सन्तान नहुँदा पनि उहाँले मलाई एक पटक पनि नराम्रो महसुस गराउनुभएन।

हाम्रो समाजमा अहिले पनि ‘विवाह गरेकै सन्तान जन्माउनका लागि हो’ भन्ने गलत भाष्य छ। त्यो हुनुहुँदैन थियो। त्यसै कारणले मेरो पनि एउटा सन्तान त पक्कै हुन्छ भन्ने मलाई लागेको थियो पहिला। आफ्नो जीवन चल्न सन्तान नै चाहिन्छ भन्ने मलाई त्यसबेला लाग्दैनथ्यो।

तर, समाजले हामीलाई पाइला-पाइलामा घाइते बनायो। धनुषामा मात्र नभएर काठमाडौंमा समेत मैले त्यस्तै साँघुरो सोच भएका व्यक्तिहरू भेटेँ। मलाई पीसीओडी भएकै कारण विवाह लगत्तै हाम्रो सन्तान भएन। लगभग चार वर्षपछि हाम्रो सन्तान त भयो, तर छ दिनपछि ऊ जीवित रहन सकेन।

मैले त एकपटक पनि उसलाई हेर्न पाइनँ। अप्रेसनको माध्यमबाट मैले उसलाई जन्म दिएकी थिएँ। सुत्केरी भएर आफ्नो सन्तान देख्न नपाउँदाको पीडा पनि असह्य हुने रहेछ। त्यो घटनाको एक-दुई वर्षपछि अर्को सन्तान भएको भए पनि केही हदसम्म म यति धेरै विक्षिप्त हुनुपर्दैन थियो होला। तर मैले धेरै लामो  समय नै कुर्नुपर्यो।

​​​​​​​के भयो भन्ने नै हामीले थाहा पाएनौँ। गर्भावस्थामा मलाई त्यस्तो अप्ठ्यारो पनि केही भएको थिएन, तर हाम्रो पहिलो सन्तान जीवित रहन सकेन। त्यसपछि लामो समय हाम्रो सन्तान भएन। सन्तान गुमाउनु र सन्तान नहुनुको पीडामा रन्थनिरहँदा जसले पनि हामीलाई ‘यसो गर, उसो गर’ भन्दै सन्तानका लागि अनेकौँ सल्लाहहरू थोपरेर जान्थे।

त्यसैको प्रभावले गर्दा हामी धामीझाँक्रीदेखि डाक्टर, मन्दिर-अस्पताल नपुगेको ठाउँ नै छैन। आमा बनेर पनि मातृत्वको स्वाद चाख्न पाइनँ। निराश भएको समयमा छिमेकमा एक जापानीले ‘सन्तान नै सबै कुरा होइन’ भनेर मनदेखि सम्झाउनुभएको याद छ।

सन्तानलाई जन्म दिएर सुत्केरी भए पनि घर जाँदा मसँग मेरो सन्तान थिएन। सुत्केरी भए पनि बच्चा नभएपछि सुत्केरी भन्ने नै भएन। म आफैँले पनि म सुत्केरी हुँ भन्ने दिमागमा नै आएन। श्रीमान् र म मात्र थियौँ। बच्चा भएको भए उसको लागि भए पनि खानुपर्छ, गर्नुपर्छ भन्ने हुन्थ्यो होला।

त्यो बेलामा श्रीमान्को साथ नै हो हामीलाई आवश्यक पर्ने। मेरो श्रीमान्ले साथ दिन कुनै पनि कसर बाँकी राख्नुभएन। म केही समय अध्यात्मतिर पनि लागेँ। अनि निकै समयपछि ‘यसरी हुँदैन, मैले पढ्नुपर्छ, अघि बढ्नुपर्छ’ भनेर डिग्री पढेँ।

मैले त सन्तान हुन्छ भनेर हार नै मानिसकेको थिएँ। अन्तिममा केही विकल्प नरहेपछि एकपटक ‘टेस्टट्युब बेबी’ को बारेमा सोच्ने हाम्रो योजना थियो, तर कोभिडले गर्दा रोक्नुपरेको थियो। त्यही बेला मेरो गर्भ रहिसकेको रहेछ। मेरो महिनावारी त्यसै पनि गडबडी नै भइरहन्थ्यो।

पहिलो सन्तान नरहेको दश वर्षपछि र हाम्रो विवाह भएको १४ वर्षपछि बल्ल अर्को गर्भ रहँदा म र मेरो श्रीमान्को खुसीको सीमा नै थिएन। ढाड दुखेको भनेर मैले त ब्रुफेन (पेनकिलर) समेत खाइदिएकी थिएँ। तर हुनु छ भने हुने नै रहेछ। धेरै आत्तिनु नहुने रहेछ भन्ने पनि त्यही बेला महसुस भयो।

कोभिडको समयमा मानसिक स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो भनेर बुझिरहेको बेला हाम्रो जीवनमा वर्षौँदेखि भगवान्लाई माग्दै आएको कामना पूरा भयो। त्यसैले गर्भावस्थामा यसपटक निकै संवेदनशील भएँ र सकारात्मक कुराहरू मात्र हेरेँ, सोचेँ। ‘मलाई स्वस्थ सन्तान जन्माउनु छ’ भनेर म आफैँ मानसिक रूपमा निकै बलियो भएँ।

अगाडि पनि अप्रेसन नै गरेर बच्चा निकालेको हुँदा यसपटक पनि अप्रेसन नै हुन्छ भनेर म तयार थिएँ। गर्भ रहेको थाहा पाउनेबित्तिकै हामी खुसी भएर बस्न सक्ने स्थिति थिएन। तनाव नहोस् भनेर मैले आफैँलाई पनि निकै ध्यान दिएँ। अनि हाम्रो स्वस्थ बाबु जन्मियो।

त्यसको फेरि अर्को दुई वर्षपछि मैले अर्को पनि बाबुलाई जन्म दिएँ। अब आमा बन्दिनँ होला भनेर चिन्ता लागिसकेको मैले लगातार दुई वर्षमा दोस्रो पटक मातृत्वको अनुभव गरेँ। हाम्रो विवाह भएको १४ वर्ष र १६ वर्षपछि दुई जना सुन्दर, स्वस्थ सन्तान भए।

जोखिम नलिई मेरो लगातार तेस्रो पटक अप्रेसन गरेर सन्तान जन्माउनुपरेको थियो। प्रसव व्यथा भनेर त्यस्तो गाह्रो पनि मलाई भएन। पेट अलि भारी भएको जस्तो भएको थियो, अनि अप्रेसन गरिहाल्यौँ। त्यसपछिकोमा पनि प्रसव व्यथा लाग्नुभन्दा अघि नै अप्रेसन गरेर बच्चा बाहिर निकाल्यौँ। हामीले स्वस्थ बच्चा र आमाबाहेक अन्य कुनै पनि कल्पना गरेका थिएनौँ।

दोस्रो सन्तान जन्माउने बेला पहिलो सन्तानको निकै माया लाग्ने रहेछ। प्रसवको समयमा ‘मलाई केही भइहाल्यो भने मेरो सन्तानको स्याहार कसले गर्छ?’ भन्ने चिन्ता पो हुने रहेछ। उनीहरू दुईको जम्मा दुई वर्षको उमेर अन्तर मात्र छ। जेठोलाई जति माया दिनुपर्ने हो, त्यति दिन सकिनँ कि भन्ने लाग्ने रहेछ।

पहिला सन्तान गुमाउँदा दूध खुवाउन नपाएर निकै दूध खेर गएको थियो मेरो। दूध खानका लागि बच्चा नै नभएपछि दूध सुकाउने औषधि नै खानुपरेको थियो। त्यसैको प्रभावले गर्दा मैले मसँग दूध खाने बच्चा हुँदा भने राम्रोसँग दूध खुवाउन पाइनँ।

​​​​​​​​​​​​​​

​​​​​​​म आफैँ पनि एक्लो सन्तान भएको हुँदा मेरो कम्तिमा दुई जना सन्तान होस् भन्ने पहिलेदेखि नै थियो। भगवान्को कृपाले दुई जना सन्तान भए। उमेरले पनि आमा बन्नुमा धेरै फरक पार्ने रहेछ। तर मैले जे-जस्तो भए पनि आमा बन्ने अवसरलाई उत्सवका रूपमा लिएँ। डाक्टरहरूचाहिँ डराउनुभएको थियो।

तर धेरै गुनासो गरेर आत्तिनु नहुने रहेछ, समयले सबैलाई दिने नै रहेछ। परिवारले साथ दिएपछि संसार जितिने रहेछ भन्ने लाग्यो। पछिका सुत्केरी स्याहारहरू एकदम राम्रो भयो। मलाई स्याहार्न भनेर मेरो ममीको ममी (हजुरआमा) समेत निकै खुसी भएर आउनुभयो। मैले र मेरा सन्तानहरूले निकै माया पायौँ।

अहिले जेठो बाबु निकै शान्त स्वभावको छ। ऊ गर्भमा रहँदा मैले निकै आध्यात्मिक कुराहरू हेरेर हो कि जस्तो पनि लाग्छ। उसले बोलेको पहिलो शब्द नै ‘ओम’ थियो। हामीले त्यो रेकर्ड गरेर समेत राखेका छौँ। ऊ अहिलेदेखि नै शान्त र व्यावहारिक छ।

अनि कान्छोचाहिँ एकदम चुलबुले छ। दुवै दाजुभाइको सम्बन्ध निकै राम्रो छ। ‘पाँच वर्षसम्मचाहिँ राजकुमार जस्तो गरेर राख्ने, अनि अनुशासनमा राख्ने र पछि साथीजस्तै व्यवहार गर्ने’ भनेर हामीले तयारी पनि गरेका छौँ। त्यसैले अहिलेसम्म हामीले उनीहरू दुवैसँग चर्को आवाजले बोलेका पनि छैनौँ।

एउटा महिला सन्तानको कारणले मात्र पूर्ण हुने होइन। उसको सपना पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले, ‘मेरा दुई जना सन्तान छन्, म पूर्ण भएँ’ भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छैन। म मेरा छुटेका सपनाहरूलाई पूरा गर्न पनि लागिरहेको छु।

समाजका धेरै कुराले घाइते बनाएको चोट मेरा सपना पूरा भएपछि मात्र निको हुन्छ। म आफू को हुँ भनेर चिन्न लागेको छु। मेरो ममी र श्रीमान्सँग अब त दुई जना सन्तान पनि छन्। यसले मलाई झन् बल दिएको छ। मलाई नृत्य निकै मन पर्छ, र आफ्नो लागि पनि म त्यो गर्छु।

भदौ २३, २०८२ सोमबार ०७:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।