
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन जी सडकमा, माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण मार्चपास

काठमाडौं : सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने मुख्य माग राख्दै नेपालका जेन जी (युवा पुस्ता) आज काठमाडौं लगायत देशभर सडकमा उत्रिदैँछन्।
काठमाडौंमा बिहान ९ बजे माइतीघर मण्डलामा भेला भएर उनीहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण मार्चपास गर्दैछन्। आइतबार माइतीघरमा बसेको युवाहरूको भेलाले आन्दोलनको स्वरूप र तालिका तय गरेको थियो।
सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि आक्रोशित बनेको युवा पुस्ताले स्वःस्फूर्त रूपमा यो आन्दोलनको घोषणा गरेको हो।
आजको आन्दोलनलाई परम्परागतभन्दा फरक शैलीमा आयोजना गरिएको छ। माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्मको मार्चपासमा कुनै पनि नेता वा अगुवाले भाषण दिने छैनन्।
बरु, आन्दोलन केन्द्रित गीत, कविता वाचन जस्ता सृजनात्मक प्रस्तुतिलाई स्थान दिइनेछ। आयोजकका अनुसार, यस्ता प्रस्तुति दिने स्रष्टा २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ।
बैठकमा सहभागी एक जेनजीले भने, ‘यो हाम्रो पुस्ताको आवाज हो, त्यसैले हामी हाम्रै शैलीमा शान्तिपूर्ण विरोध जनाउँछौं।’
युवाहरूले सरकारसँग मुख्य तीनवटा बिनासर्त सामाजिक सञ्जालहरू पुनः सञ्चालन गरिनुपर्ने, पुराना नेताहरूले अब प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायमा निष्पक्ष र सक्षम व्यक्तिलाई आयुक्तका रूपमा नियुक्त गर्नुपर्ने माग छ।
यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेता, कलाकार तथा अन्य सेलिब्रिटीहरूले पनि सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाइरहेका छन्। युवाहरूको यो शान्तिपूर्ण प्रदर्शनको घोषणासँगै सरकार दबाबमा छ।
भदौ २३, २०८२ सोमबार ०७:२१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।