ओलीलाई तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्ने बाटो खुल्यो

काठमाडौं : केपी ओलीलाई एमालेको तेस्रो पटक अध्यक्ष हुने बाटो खुल्ला गराउँदै एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ। गत शुक्रवार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको महाधिवेशन विभिन्न प्रस्ताव पास गर्दै आइतबार सकियो।
महाधिवेशनले पार्टी अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिकसहित विभिन्न आयोगका प्रतिवेदन पारित गर्यो।
आइतबार पारित भएको विधान संशोधनमा ७० वर्षे उमेर सीमा र अध्यक्ष पदमा दुई कार्यकाल मात्रै रहने प्रावधान हटाइयो। यसले ओलीलाई तेस्रो पटक पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने बाटो खोल्यो।
प्रस्तावहरू पारित गर्नु अगाडि गठन भएका विभिन्न समूहका संयोजकहरूले पार्टीको भावी नेतृत्वमा केपी ओलीको विकल्प नभएको भन्दै उनैलाई अगाडि बढ्न आग्रह गरेका थिए।
पूर्वराष्ट्रपती विद्या भण्डारीको सदस्यताबारे महाधिवेशनले कुनै निर्णय गरेन। तर केही प्रतिनिधीले राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक आयोगमा निर्वाचित/नियुक्त भएकाहरू दैनिक राजनीतिमा नफर्किने व्यवस्था विधानमै राख्नुपर्ने सुझाव दिएका थिए।
भदौ २२, २०८२ आइतबार २२:५०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।