‘अपत्यारिलो’ पुस्ताले ल्याएको तरंग

अहिलेको नयाँ पुस्ता (जसलाई जेनजी भनेर चिनिन्छ) उनीहरूबारे सामान्य धारणा देखिन्छ असामाजिक, कोठाबाट बाहिर ननिस्कने, खाली ल्यापटप र मोबाइलमा घोत्लि रहने। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा अत्यधिक निर्भर हुने भएकाले अन्य उमेर समूहकालाई उनीहरूमा वास्तविक जीवनको अनुभवै नभएको जस्तो सोच देखिन्छ।
त्यसैले त सामाजिक सञ्जालमै 'कतै काम परेर जाँदा समस्या भयो भने कुनै प्रतिवाद नगर्ने तर घर फर्किएपछि सामाजिक सञ्जाल खोलेर क्रान्तिका कुरा लेख्ने' भनेर व्यङ्ग्य समेत देखिन्छ यो पुस्तामाथि।
“हामीले बोलाउँदा पनि नआएर हेप्ने” भन्दै सरकारले सूचीकरण नभएको कारण देखाउँदै शुक्रवारबाट २६ वटा सामाजिक सञ्जालमाथि नेपालमा प्रतिबन्ध लागेसँगै समाज बुझेको दाबी गर्ने पुस्ताहरू प्रतिरोधको साटो विकल्पमा डिएनएस बदल्न र कुन चैँ भिपिएन सुरक्षित छ भन्नेतिर लाग्दा त्यही नपत्याएको पुस्ताले सामाजिक सञ्जाल हुँदै प्रतिरोधका लागि सडकको विकल्प रोज्यो।
प्रारम्भमा इन्डोनेसिया अनि फिलिपिन्समा फैलिएको ‘नेपो बेबी’ ट्रेन्डलाई सामाजिक सञ्जालबाटै परीक्षण गरेर नेताका सन्तानको विलासी जीवनशैलीमाथि प्रहार गरे। त्यसको सकारात्मक प्रभाव देखिएपछि उनीहरू सोमबार सडकमै उत्रिने निर्णयमा पुगे।
रिडइट, इन्स्टाग्राम अनि टिकटकमा एक साता अगाडिबाटै ‘नेपो बेबी’ अभियान सुरु भइसकेको थियो। तर यो फैलिसकेको थिएन। डिजिटलस्पेसमा शनिवार दिउससम्म यो फैलिसक्दा पनि ‘यो पुस्ता सामाजिक सञ्जालमा लेख्छन्, कराउँछन्, मुर्मुरिन्छन् अनि चुप लाग्छन्’ भन्दै न अधिकांश मिडियाले वास्ता गरे न त दलका नेताहरूले नै महत्व दिए।
जब शनिवार बेलुका भ्रष्टाचारविरुद्ध नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने घोषणा भयो बल्ल मिडियादेखि नेतासम्मको ध्यान तान्यो यसले। आइतबार दिउससम्म आइपुग्दा विरोध प्रदर्शन गर्छु भन्नेलाई थर्काउने प्रधानमन्त्री केपी शर्मा ओली नै ‘जेनजी पुस्ता विधि र कानुनबारे स्पष्ट छन् भन्ने लागेको छ’ भन्दै फकाउने अवस्थामा पुगे।
यो पुस्ता कहाँ सडकमा आउँछन् र ! यिनीहरूले आन्दोलन गर्ने भनेको त्यही मोबाइलमा मात्रै हो भन्ने पुस्ताका सदस्यहरू सकेसम्म आन्दोलन नभड्किए हुन्थ्यो भनेर चिन्ता गर्ने चरणमा पुगे। सबैभन्दा गजब पक्ष ‘राजनीति बुझ्दैनन्’ भनेर होच्याइएका यो पुस्ताले सामाजिक सञ्जाल किन बन्द गरेको भन्ने मात्र विषयमा विरोध प्रदर्शन गर्दै छैनन्, उनीहरूले आफ्नो प्रश्न बनाएका छन् "मेरो अभिभावक वा मैले तिरेको कर कहाँ खर्च भयो?"
यो प्रश्नका लागि उनीहरूले हिजोका दिनमा सामान्य आर्थिक अवस्थाका नेताहरूको सन्तानको अहिलेको अत्यन्त खर्चालु दैनिकीलाई सङ्केतका रूपमा प्रयोग गरेर भनिरहेका छन् “हामीले तिरेको कर तिमीहरूको शोअपका लागि होइन ! अब तिमिहरूले मूर्ख बनाउने अन्तिम पुस्ता हौँ।”
यसको लागि उनीहरुले नेताहरूकै सन्तानले सामाजिक सञ्जालमा शोअप गर्दै राखेका तस्बिर र भिडियोलाई प्रमाण बनाइरहेका छन्। त्यसको काउन्टरमा दुख पाएका नागरिकको तस्बिर र भिडियो राखेर कर तिर्ने अनि कर खर्च गर्नेहरूको जीवनशैलीको भिन्नता समाजलाई बुझाइरहेका छन्।
यो तीन दिनमा उनीहरूको यो डिजिटल प्रतिरोध देखेर ४० माथिका पाका, समाज अनि राजनीति बुझेको दाबी गर्ने पुस्ता नै छक्क छन्। ‘अल्छी, भनेर गाली खाइरहेको यो पुस्ता सोमबार माइतीघर र नयाँबानेश्वर जान्छन् या जान्नन् भन्ने शंका हैन, अहिले कतै अरूले यिनका शक्ति दुरुपयोग पो गरिदेलान् कि भन्ने चिन्तामा देखिए पाका पुस्ता।
युवा उमेर नै परिवर्तनका बाहक !
हामीले अहिलेको पुस्तालाई जसरी ‘वास्तविक जीवनमा भन्दा मोबाइलको संसारमा हुर्किएको’ भनेर जिस्कायौँ नेपालमा भएको आन्दोलनका सहभागी र परिवर्तनमा भूमिका खेल्ने नेताहरुको पृष्ठभूमि हेर्ने हो भने उनीहरुको उमेर अहिलेका जेनजी पुस्ता समानै देखिन्छ।
धेरै पर नजाऊँ, २००७ को परिवर्तन हेरौँ। ७ सालमा नेपालमा प्रजातन्त्र आउँदा त्यसको नेतृत्व गरेका थिए नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वर प्रसाद कोइराला। राजनीति सुरु गर्दा उनको उमेर २० वर्ष त थियो। भारतबाट विभिन्न माध्यम मार्फत नेपालमा आन्दोलन गर्ने योजना बनाउँदा उनी अहिलेका जेनजी पुस्ता सरह नै थिए। त्यो बेला नेपालमा प्रजा परिषद् मार्फत आन्दोलन हुँदा पनि अधिकांश नेताहरूको उमेर पनि ३० तलकै त हो।
अहिलेको पुस्ताले जसरी नेताका छोराछोरीहरूको धनाढ्य जीवनशैलीमाथि प्रश्न उठाइरहेका छन् राणाकालमा पनि उनीहरूले “राणाका सन्तानले पढ्न, लेख्न र ऐस आराम पाए, जनताको छोराछोरीलाई दास बनाए” भनेरै आवाज उठाएका थिए।
नागरिक खान नपाएर मरे पनि राणाहरूले ८४ व्यञ्जनको सुख भोग गरे भनेर आन्दोलन सुरु भएको थियो। त्यो बेलामा तन्नेरी पुस्तालाई समाजले पत्यायो। बीपी कोइराला जस्तै तन्नेरीहरु मिलेर राजनीतिक दल खोले र परिवर्तन सम्भव गराए।
अब पञ्चायत विरुद्धको आन्दोलनकै समयलाई हेर्ने हो भने पनि २०१७ सालमा राजा महेन्द्रले कु गरेर सत्ता हत्याएपछि त्यसका विरुद्धमा उत्रिएका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतकाहरुको उमेर कति नै थियो र!
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली २०२७ सालमा १९ वर्षका मात्रै थिए। कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा २४ वर्षका थिए। प्रचण्ड या माधवको उमेर पनि एक दुई वर्ष तलमाथिका त हुन्।
पञ्चायतकालमा पञ्चायत पक्षधरहरुलाई ‘स्वर्ग’ समान थियो। सबैलाई सरकारले समान व्यवहार नगरेको भन्दै विरोध गर्दा ओली समातिएर जेल पुगे। ‘नेपाल विद्यार्थी संघ’ पुस्तकमा उल्लेख भए अनुसार पञ्चायत कालमा देउवा लगायतका नेपाली विद्यार्थीहरूले राज्यले प्रतिबन्ध लगाएको पुस्तकहरू खोजी खोजी पढ्थे।
उनीहरूले वरपरका देशमा भएका राजनीति घटनाक्रमबारे आफ्ना धारणा नेविसंघको मुख पत्र ‘सङ्क्रान्ति’ पत्रिकामा छाप्थे। देउवाले त्यतिबेला नेविसंघ अध्यक्षको हैसियतमा पाकिस्तानबाट बङ्गलादेश टुक्रिएकोबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।
राज्यले चाहेको मात्रै लेख्न, पढ्न पाइने बेलामा त नेताहरू लुकाएर ल्याएका सामाग्री पढ्थे भने अहिलेको पुस्तासँग त इन्टरनेटमार्फत ज्ञानको अथाह भण्डारमा सहज पहुँच छ। हिजो त्यही २३-२४ वर्षका युवाले ‘यो देश मुट्ठीभरका व्यक्तिलाई ‘स्वर्ग’ छ भनेर पत्रिकामा लेख्दा, भाषण गर्दा उनीहरू क्रान्तिकारीमा गनिए। तर अहिले त्यही उमेरका पुस्ताले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भनेर सामाजिक सञ्जालमा लेख्दा अनि बोल्दा ‘यिनीहरूलाई के थाहा छ र’ भनेर हेप्यौँ।
देउवा अनि केपी ओली लगायतले जुन उमेरमा राजा र पञ्चायती व्यवस्थाका सहयोगीलाई मात्रै देश ‘स्वर्ग’ भयो आम मान्छेको स्वतन्त्रता खोसियो भन्दै आन्दोलन गरेका थिए सोमबार नयाँबानेश्वर र माइतीघर आउन चाहेका पुस्ताको उमेर पनि त्यही हो।
नेपालमा जबजब शासकहरू नागरिकको स्वतन्त्रताको घाँटी ङयाँक्न सक्रिय हुन्छन् तबतब तन्नेरी पुस्ता राजनीतिमा सक्रिय भएको देखिन्छ। २०६० को दशकमा तत्कालीन राजा ज्ञानेन्द्र शाह सरकार प्रमुख बनेर 'कु' नगरेको भए आज रामकुमारी झाँक्री र गगन थापाहरूको राजनीतिक हैसियत यो तहको हुन्थ्यो होला त!
थापाले पार्टीको विधान विपरीत गणतन्त्रको वकालत गर्दा २८ वर्षका त थिए। गणतन्त्रको वकालत गर्दा रामकुमारी झाँक्रीको उमेर २८ वर्ष त थियो। यीनै थापा र झाँक्री पछि २०६२/६३ आन्दोलनका आइकन भएका नै हुन्।
राणाकालमा राणाहरूका सन्तानलाई नेपाल स्वर्ग भयो। सचेत नागरिकले विद्रोह गरेर राणा शासन ढाले। पञ्चायतमा दरबार निकटकाहरुका लागि नेपाल स्वर्ग भयो। नागरिकले त्यसलाई नि मिल्काए। थन्काइसकेको सक्रिय राजतन्त्र ब्यूँताउँदै ज्ञानेन्द्रले त्यतिबेला सम्पर्कको सहज माध्यम टेलिफोन र मोबाइल नै बन्द गराए। युवा पुस्ताको बलमा राजतन्त्रै उखेलियो।
२०६२/०६३ मा भएको राजनीतिक परिवर्तनको २० वर्षमा समय फेरियो, मुद्दा फेरियो। तर सरकार चलाउने शैली फेरिएन। यो बिचमा दलहरूले आफ्ना परिवार, निकट र आसेपासेका लागि नेपाल स्वर्ग बनाए, राज्यको स्रोत निजी सम्पत्ती समान बनाए।
यता आम नागरिकको संघर्ष उस्तै भयो। उनीहरु राणाकालमा देशभित्रै दास बनेका थिए, गणतन्त्रकालमा वैदेशिक रोजगारको आवरणमा विदेशमा दास भए। सम्पत्ति विवरण हेर्दा १० हजार बचत नदेखिने नेताका सन्तान १० हजार डलर पर्ने घडी लगाएर सामाजिक सञ्जालमा उद्योगपतिको सन्तान झैँ रवाफ देखाउन थाले।
जेनजी पुस्ताले आफ्नो परिवारमा बिहानदेखि बेलुकासम्म काममा घोटिएका अभिभावकसँग एक हजार माग्दा पनि दिन नसकेको अवस्था सम्झिए। कर तिर्ने आफ्नो अभिभावकको आर्थिक अवस्था यति कमजोर अनि त्यही करको भरमा जीवन चलाउने नेताका सन्तानहरू कोही अमेरिका, कोही युरोपमा मस्ती गरिरहेको देखे।
उनीहरुको महँगो होटेलको डिनर, हातमा वाइन र ह्विस्कीका गिलास अनि ज्यानमा लाखौँ पर्ने ब्राण्डेड पहिरन देखेपछि उनीहरूको मनमा प्रश्न जन्मियो ‘त्यो गुच्चीको ब्याग बोक्ने आर्थिक स्रोत के हो?’ अनि त्यही प्रश्नले उनीहरूमा नेपालमा मौलाइरहेको भ्रष्टाचारको जालोबारे ज्ञान दियो।
आफू झुक्किएर वानवेमा छिर्दा अपमानजनक व्यवहार गर्दै पाँच सयको चिट थमाउने अनि जेब्राक्रसमा ११ वर्षकी बालिकालाई ठक्कर दिएर भागेको गाडीको चालकलाई ‘मन्त्रीको गाडी’ भनेर छाड्ने एकै ट्राफिक देखेपछि 'ए मलाई मात्र पो कानुन लाग्ने' भनेर रिसाए।
आफू पढ्ने स्कुलमा गतिलो खानेपानी नभएको तर नेताका सन्तान महिनाकै लाखसम्म पर्ने महँगो विद्यालयमा पढेको दृश्य सम्झिए। विद्यालय जाँदा ठस्स गन्हाउने सार्वजनिक यातायातको आफ्नो यात्रा अनि नेताका सन्तान सेतो नम्बर प्लेटको करोडको बास्नादार गाडीमा हुइँकिएको दृश्य देखे।
अनि उनीहरूको मनमा प्रश्न उठ्यो ‘कर तिर्ने हाम्रो हालत चैँ यस्तो, उनीहरूको अवस्था चैँ किन त्यस्तो ?’ केबल प्रश्न मात्र थप्छ। किनकि न नेताका सन्तानका अभिभावकहरु न कतै काम गर्छन्, न उनीहरुको कुनै उद्योग छ, न त कुनै व्यापार छ। तर उनीहरुकै आर्थिक अवस्था उद्योगी विनोद चौधरीको सन्तानलाई पनि माथ गर्ने खालको छ।
जब प्रश्न उब्जियो अनि त्यही मोबाइलमा खोजेमा भ्रष्टाचारको सूचीले उत्तर दिन्छ नै। गिरीबन्धु जग्गा घोटालाले केपी ओलीको आर्थिक अवस्था सम्झाउँछ। लडाकूको शिविरमा खर्च भएको अंकले ब्यक्तीगत सम्पत्ती नै छैन भन्ने पुष्पकमल दाहाल प्रचण्ड, उनका छोरी, ज्वाइँ, नातिनीको सामाजिक सञ्जालमा देखिएको आर्थिक रवाफ र खर्चको स्रोत देखाउँछ।
'प्रपर्टी अफ शेरबहादुर देउवा' (शेरबहादुर देउवाको सम्पत्ति) भनेर सर्च गर्दा आउने उनको सम्पत्ति विवरण अनि परिवारका सदस्यको रवाफले प्रश्न जन्माउँछ नै। किनकी देउवा व्यापारी हैनन्। उनले सांसद भए पाउने भत्ता, मन्त्री या प्रधानमन्त्री भए पाउने तलब नै हो।
देउवाले पाउने सरकारी तलब बराबर आफ्नो अभिभावकले पनि कमाउँदा घरखर्च धान्न धौ धौ तर उनको परिवारको आर्थिक अवस्था अति सम्पन्न भएपछि प्रश्न उठ्नु स्वाभाविकै हो। छोराको विवाहमा एक महिना अलग अलग पार्टी प्यालेसमा दिएको भोज, उनको छोराको लवाई, घुमाईको खर्चले आम्दानीको स्रोत अनुमानयोग्य बनाउँछ नै।
यस्ता कुरा पाका भनिने दाइ, अङ्कल, आमा अनि बुबालाई सोध्दा सहज जवाफ भन्दा ‘बिहानदेखि बेलुकासम्म मोबाइलमा घोत्लिएर हुन्छ?, जान्न त पढ्नु पर्यो नि’ भनेर डायलग आउने लगभग पक्का।
तर मोबाइलमा सामाजिक सञ्जाल मात्रै हैन, हावर्डको कोर्स बुकै समेत पाइन्छ। तर बुझिदिँदैनन् वा बुझ्न चाहँदैनन् पाका पुस्ता। उनीहरूका लागि त पढ्नु भनेको किताब हातमा लिएर बस्नु मात्र हो। उनीहरु आफैँले कारण खोजे र मनमा उठेको प्रश्नको उत्तर सामाजिक सञ्जालमा उनीहरुलाई नै सोधे ‘तिम्रो यो आर्थिक स्रोतको आधार के?’
तथ्य र तथ्याङ्कमा आफ्नो देश कहाँ छ भनेर दाँजिरहने पुस्ताले जब भ्रष्टाचारको चाङहरू देखे अनि नेताका सन्तानको जीवनशैलीबारे प्रश्न सोधे। तर पाका पुस्ताले जिस्काए ‘मोबाइलमा लेखेर मात्र क्रान्ति हुन्छ?, हाम्रो पालामा जस्तो सडकमा उत्रिए पो’। अनि लौ त भनेर सडकमै आउने घोषणा गरे।
बल्ल पाका पुस्ता झस्किए। कतै आफ्नै पालामा जस्तो ढुंगा पो हान्छन् कि, चैत १५ मा दुर्गा प्रसाईँको आन्दोलनमा जस्तै हिंसा पो भड्किन्छ कि भनेर चिन्ता गर्न थाले। भिपिएनको सहयोगमा चलेका सामाजिक सञ्जालमा चिन्ता र सुझाव पोख्न थाले।
लोकतन्त्रको मेरुदण्ड स्वतन्त्रता हो। जसरी हिजो पर्चा छर्नु, पत्रिका पढ्न पाउनु स्वतन्त्रता थियो अहिले सामाजिक सञ्जालमा लेख्न, बोल्न र प्रश्न सोध्न पाउनु स्वतन्त्रता हो। जसरी २०४६ अगाडिको अवस्थाबारे त्यति ज्ञान नभएको पुस्ता २०६० तिर मोबाइल बन्द गर्दा धेरै रिसाएको थियो अहिले सामाजिक सञ्जाल बन्द हुँदा २०६२-२०६३ पछिको पुस्ता त्यसरी नै रिसायो।
हिजोको पुस्ताले एक प्रकारले विरोधको विकल्प खोज्दै भित्तामा पोस्टर टाँसिदिन्थे। अहिलेको पुस्ताले आफ्नो प्रकारले विरोधको विकल्प खोज्दै डिजिटलको भित्तामा नेपो बेबी भन्दै डिजिटल पोस्टर टाँसिदिए।
हिजो जसरी गिरिजाप्रसादले आफ्नो अनुमती नलिई गणतन्त्र भनेको भनेर गगनलाई कारबाही गरेर तह लगाउने असफल प्रयास गरेका छन् अहिलेका पाका पुस्ता पनि उही कोइरालाकै शैलीमा ‘आफूले खाएको थाल भान्छासम्म त नलैजानेहरूले आन्दोलन गरिखालान्!’ भनेर होच्याइरहेका छन्। कतै प्रसाईँले दुरुपयोग गर्ने त हैन भनेर हल्का डराएका पनि छन्।
तर न होच्याउन आवश्यक देखिन्छ, न डराउन। केवल पाका पुस्ताले विरोध प्रदर्शनस्थलमा जानबाट रोक्न हस्तक्षेप, करकाप नगरिइदिए पुग्छ। प्रसाईँ जस्ता अवसरवादीले उनीहरूको गैर राजनीतिक मागलाई राजनीतिक रङ्ग दिएर दुरुपयोग गर्ने प्रयास गरेभने तह लगाउन उनीहरू नै सक्षम छन्।
पत्यार लागेन ? नपत्याएका पुस्ताको शक्ति भोली यसो माइतीघर वरिपरि उभिएर हेरे भयो त।
भदौ २२, २०८२ आइतबार २०:२९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।