युवा पुस्तालाई सोमबार विरोध प्रदर्शन गर्न स्थानीय प्रशासनको अनुमति, शान्तिपूर्ण हुनुपर्ने सर्त

काठमाडौं : भ्रष्टाचार विरुद्ध सडकमा उत्रने तयारी गरेका नयाँ पुस्तालाई सोमबार नयाँबानेश्वर र माइतीघर क्षेत्रमा आन्दोलन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ। नेताहरूको सन्तानको रवाफिलो र भड्किलो जीवनशैलीको स्रोतबारे सामाजिक सञ्जालमा ‘नेप बेबी’ ट्रेन्ड गराएको जेनजी भनिने नयाँ पुस्ता सोमबार प्रदर्शनमा सडकमा उत्रँदै छ।
उनीहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने भन्दै स्थानीय प्रशासनसँग अनुमति मागेपछि आइतबार दिउस जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो। तर आन्दोलनमा तीनकुनेमा हिंसात्मक आन्दोलन गरेर मुद्दा खेपिरहेका दुर्गा प्रसाईँले समेत सहभागी हुने घोषणा गरेका छन्।
आन्दोलन शान्तिपूर्ण र कसै विरुद्ध नभई भ्रष्टाचार सुशासनविरुद्ध रहेको भन्दै उनीहरूले राजनीतिक गतिविधिमा संलग्नहरूलाई सहभागी नगराउने रणनीति लिएका छन्। आन्दोलनको तयारीमा संलग्न स्रोतका अनुसार आन्दोलनमा सहभागीहरू सहजै पहिचान हुन सकुन् भनेर उनीहरूले विद्यालयको पोसाकमा प्रदर्शनमा सहभागी हुने तयारी गरेका छन्।
उता आन्दोलनको सुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिको बैठक बसेर घुसपैठ हुनसक्ने भन्दै सचेतना अपनाउने तयारी गरेको छ। युवा पुस्ता संयमित भए पनि आन्दोलनमा अन्य पक्षको घुसपैठ हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न निगरानी बढाउने सुरक्षा निकायले तयारी गरेको छ।
भदौ २२, २०८२ आइतबार १७:४१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।