जेनजी पुस्ताको आन्दोलनबारे बोल्न थाले नेता, राजनीतिक दुरुपयोग नहुन प्रधानमन्त्रीले गरे आग्रह

काठमाडौं : सामाजिक सञ्जालमा युवा पुस्ताले सोमबार गर्ने तयारी गरेको विरोध प्रदर्शनको लोकप्रियता बढेसँगै चुपचाप बसेका नेताहरू समेत यसबारे बोल्न थालेका छन्। युवा पुस्ताले सार्वजनिक ओहदामा बसेकाहरूको सन्तानको खर्चिलो जीवनशैली सार्वजनिक गर्न ‘नेपो बेबी’ अभियान चलाएसँगै सोमबार बिहान ९ बजे विरोध प्रदर्शनको आव्हान गरेपछि नेताहरू यसबारे बोल्न थालेका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यक्रममा सामाजिक सञ्जाल बन्द गर्न नखोजेको र नेपालमा दर्ता गरेर चलाउन मात्र भनेको दाबी गर्दै जेनजी भनिने पुस्ता आफैँ सचेत रहेको भन्दै दुरुपयोग नहुन सचेत गराए।
ललितपुरको गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत छलफलपछि बोल्दै उनले एक वर्षदेखि तारन्तार ताकेता गर्दा पनि कुनै प्लेटफर्मले दर्ता प्रक्रिया नपुर्याएपछि सरकारले बाध्य भएर कडाइ गर्नुपरेको दाबी गरेका थिए। उनले यसलाई नियन्त्रण नभई नियमन मात्र गरेको दाबी समेत गरे।
उनले अहिलेको पुस्ता जानकार र सक्षम रहेको भन्दै राजनीतिक तथा वैचारिक प्रयोजनमा दुरुपयोग हुन सक्ने भन्दै सचेत हुन आग्रह गरे।
“अहिलेको पुस्ता सक्षम छ, जानकार छ तर त्यही कारणले उनीहरूलाई राजनीतिक वा वैचारिक प्रयोजनका लागि दुरुपयोग गर्न खोज्न सकिन्छ । त्यसप्रति सबै सचेत हुनुपर्छ,” उनले भने।
भदौ २२, २०८२ आइतबार १६:३९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।