सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध माइतीघरमा पत्रकारको विरोध प्रदर्शन

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध माइतीघरमा पत्रकारको विरोध प्रदर्शन

काठमाडौं : कर कार्यालयमा दर्ता भए पनि सामाजिक सञ्जाल सम्बन्धित निर्देशिका अनुसार सञ्चार मन्त्रालयमा सूचिकृत नभएको बहानामा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विपक्षमा सञ्चारकर्मीहरूले विरोध प्रदर्शन गरे।

आइतबार माइतीघरमा शान्तिपूर्ण भेला भएर उनीहरूले सरकारले २६ सामाजिक सञ्जाल नेपालमा हेर्न नमिल्ने गरी लगाएको प्रतिबन्ध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी कदम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले प्रदर्शनमा सरकारले नियमनको बहानामा सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएको नागरिकको बोल्न पाउने अधिकार खोस्ने काम गरेको भन्दै तत्काल सामाजिक सञ्जालहरू सुरु गर्न माग गरेका थिए। विरोध प्रदर्शन कुनै संगठनबाट नभई सञ्चारकर्मीहरूले स्वतःस्फूर्त रूपमा आयोजना गरेका हुन्।

सरकारले मागेको जुनसुकै सूचना दिनुपर्ने र सरकारले निर्देशन दिएको जुनसुकै सामग्री पनि हटाउनु पर्ने निरङ्कुश प्रावधानसहित आएको सामाजिक सञ्जाल सम्बन्धी निर्देशन स्वीकार गरेर फेसबुक, एक्स, युट्युब लगाएका सामाजिक सञ्जाल सूचिकृत हुन नआएको बहाना बनाएर सरकारले निरन्तर रूपमा २६ सामाजिक सञ्जालहरू नेपालभित्र हेर्न नमिल्ने बनाएको छ। अधिकांश सामाजिक सञ्जालहरू निष्क्रिय भइसकेका छन्।

भदौ २२, २०८२ आइतबार १६:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।