‘नेपो बेबी’ अभियानको टार्गेटमा जयबीरदेखि गंगासम्म, जेनजी पुस्ताले सोधिरहेछन् खर्चालु जीवनशैलीको स्रोत

‘नेपो बेबी’ अभियानको टार्गेटमा जयबीरदेखि गंगासम्म, जेनजी पुस्ताले सोधिरहेछन् खर्चालु जीवनशैलीको स्रोत

काठमाडौं : "नेताका सन्तान विदेशबाट गुचीको ब्याग लिएर फर्कन्छन्, जनताका छोराछोरी बाकसमा" भन्दै सामाजिक सञ्जालमा शुरु भएको "नेपो बेबी" अभियानले विभिन्न नेताका सन्तानहरूको सम्पन्न जीवनशैली सार्वजनिक गरिरहेका छन्। 

उनीहरूले आफ्ना अभिभावक र आफूले तिरेको करमा भ्रष्टाचार गर्दै नेताहरूले आफ्ना सन्तानको जीवन सम्पन्न बनाएको भन्दै विशेषगरी रिडइट, इन्टाग्राम र टिकटकमा चलिरहेको प्रतिरोध आन्दोलन सामाजिक सञ्जालबाट सोमबार मैदानमा आउँदै छन्। 

इन्डोनेसिया, फिलिपिन्स हुँदै नेपाल भित्रिएको जेनजी पुस्ताको यो प्रतिरोध आन्दोलन कुनै पार्टी वा नेता विशेष लक्षित देखिएको छैन। 

सन्जाल प्रयोगकर्ताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाको छोरा जयबीर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी गंगा र रेनुसँगै उनीहरूका छोरीहरू, एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला खतिवडा, कांग्रेस गण्डकीका सांसद तथा मन्त्री विन्दु कुमार थापाको छोराको तस्बिर सार्वजनिक गरिरहेका छन्।

यसैगरि, एमाले नेता महेश बस्नेतको छोरी, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको सन्तान, नेपाल टेलिकमकी महाप्रबन्धक संगीता पहाडीका सन्तान लगायतले सामाजिक सञ्जालमा राखेका वैभवशाली र सम्पन्न जीवनशैली र गतिविधिका भिडियो र फोटो सार्वजनिक गरिरहेका छन्। त्यसमा मुख्य रूपमा प्रमुख नेताका सन्तान नै परेका छन्।  

१-जयबीर देउवा

डडेल्धुराका मध्यम परिवारका सदस्य शेरबहादुर देउवाको पेशा राजनीति भन्दा अन्य देखिन्न। आरजु अन्तराष्ट्रिय परामर्शदाताको रूपमा सक्रिय भए पनि पूर्णकालीन कांग्रेसको राजनीतिमा लागेको लामै समय भयो।  तर यी दुवैको जीवनशैली कुनै धनाढ्य व्यापारीको भन्दा कम छैन। आरजुको नाम बारम्बार आर्थिक अनियमिततामा जोडिने गरेको छ।

विवाह अगाडिसम्म जयबीर सार्वजनिक चर्चाको विषय बनेका थिएनन्। विवाह र उनको व्यापारिक संलग्नता सार्वजनिक भएसँगै उनी समेत सार्वजनिक चासोको केन्द्रमा पर्न थाले। विवाहपछि उनी र उनको श्रीमतीको जीवनशैली उत्तिकै वैभवशाली देखियो।

उनीहरूको अति खर्चालु विवाहको तस्बिर, हनिमुन र घुमघाममा जाँदाका भिडियो र तस्विर अहिले "नेपो बेबी" अभियानमा प्रयोग हुँदै उनीहरूको आर्थिक स्रोतबारे सञ्जालमा प्रश्न उठिरहेको छ।

२-प्रचण्डको परिवार

आफ्नो व्यक्तिगत सम्पत्तिसमेत दललाई दान दिएको दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि उनको परिवारको सदस्यको जीवनशैली कुनै धनाढ्य व्यवसायी वा उद्योगपतिको भन्दा कम देखिन्छ। उनका दुई छोरी र दुई नातिनीको जीवनशैली, उनीहरूले लगाउने महंगा ब्राण्डेड पहिरन र ग्याजेटको स्रोतबारे अहिले सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ।

प्रचण्डको दुबै छोरी गंगा र रेणु बाबुकै राजनीतिमा आश्रित छन्। रेणु भरतपुर महानगरको मेयर छिन्। गंगाको त यति स्रोत पनि छैन। तर दुवैको जीवनशैली धनाढ्य परिवारको सदस्यभन्दा कम देखिन्न। मोबाइलदेखि घडीसम्म ब्राण्डेड प्रयोग गर्छन्।

प्रचण्डको नातिनी स्मिता गायिका हुन्। तर व्यवसायीक रूपमा त्यति सफल हैनन्। तर सामाजिक सञ्जालमा देखिने उनको तडकभडक नेपालको सबैभन्दा व्यस्त गायिकाको भन्दा पनि उच्च देखिन्छ।  

रेणु अनि भरतपुर महानगरको सल्लाहकार रहेका उनका श्रीमान् अर्जुनको छोरी प्रतिभा पाठकको विवाह निकै खर्चालु थियो। राजनीतिकै भरमा त्यति खर्च गर्ने हैसियत कसरी बन्यो ? नेपो बेबी'को अभियानमा संलग्नहरूले प्रश्न गरिरहेका छन्।

प्रचण्डकी अर्की छोरी गंगा बाबु प्रधानमन्त्रीहुँदा उनको स्वकीय बन्ने बाहेक अर्को आम्दानीको स्रोत देखिन्नँ। उनको श्रीमान् पनि राजनीतिमै छन्। तर गंगाको जीवनशैली नेपालको सम्पन्न उद्योगीको छोरीलाई माथ गर्ने देखिन्छ। सत्ताको दुरुपयोग गरेर हुने आर्थिक लाभमा बारम्बार उनको नाम जोडिने गरेको छ। त्यसैले अहिले त्यसको स्रोतमाथि प्रश्न गर्दै सामाजिक सञ्जालमा नागरिकको करमाथि भ्रष्टाचार गरेको आरोप लगाइरहेका छन्।  

३- विन्दुकुमार थापा

तेस्रोमा छन् कांग्रेस नेता तथा गण्डकी प्रदेशका सांसद तथा मन्त्री विन्दुकुमार थापा। उनको छोरा सौगात थापाले क्रिसमसमा गुच्ची लगायतका महंगा अन्तराष्ट्रिय ब्रान्डको सामानसहित क्रिसमस ट्री बनाएर फोटो खिचे अनि सञ्जालमा राखे। अहिले त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल छ 'नेपो बेबी' अभियानमा। 

विन्दु गण्डकीमा दोस्रो पटक सांसद भएका हुन्। पटक पटक मन्त्री भएका उनी अहिले युवा तथा खेलकुद मन्त्री छन्।
उनी व्यापारिक पृष्ठभूमिका हुन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अर्ब माथि छ। 

सौगात अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक समेत हुन्। उनको बाबुको हाइड्रो लगायतका क्षेत्रमा लगानी छ। उनको बाबु सार्वजनिक ओहदामा रहेको र उनको जीवनशैली अति उच्च आर्थिक हैसियतको देखिएपछि जेनजी पुस्ताले प्रश्न गरिरहेका छन्। 

४. विरोध खतिवडा

एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको छोरी श्रृंखला खतिवडाको जीवनशैलीमाथि पनि प्रश्न उठिरहेको छ। विरोध अहिले पनि एकीकृत समाजवादीका नेता हुन् र स्वास्थ्यमन्त्री समेत भएका थिए। तर उनी आर्थिक अनियमिततामा विवादमा आएका नेता भने हैनन्।

पूर्व मिस नेपाल रहेकी श्रृंखलाको विवाह कान्तिपुर समूहका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग भएको थियो। कान्तिपुर समूह अहिले मिडियासँगै शिक्षा र सूचना प्रविधिको क्षेत्रमा समेत सक्रिय छ। श्रृंखलाको जीवनशैली सम्भवसँग विवाहपछि बदलिएको देखिए पनि 'नेपो बेबी' अभियान अगाडि बढाइरहेकाहरुले सामाजिक सञ्जालमा रहेको श्रृंखलाको महंगो जीवनशैलीको तस्बिर र भिडियो राखेर उनको आर्थिक स्रोतबारे प्रश्न उठाइरहेका छन्। 

५ अन्य

३० करोड बढि भ्रष्टाचारको मुद्दा खेपिरहेकी नेपाल टेलिकमकी महाप्रबन्धक पहाडीको सन्तानको जीवनशैलीको स्रोतको आधार, महेश बस्नेतको छोरीको भव्य विवाहका तस्बिर अनि अति विवादित भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको सन्तानको जीवनशैलीका भिडियो र तस्बिरहरु समेत सार्वजनिक गरेर स्रोत खुलाउन माग भइरहेको छ। 

अधिकांश टिकटक प्रयोगकर्ताहरूले 'गाउँ गाउँबाट उठ', 'मनि मनि मनि' लगायतका गीतको बोल राखेर भिडियो बनाइरहेका छन्। केहीले अभिभावकले गरेको काममाथि सन्तानलाई एक्सपोज गराएर बदनाम गराउने प्रयास गरेको भन्दै असन्तुष्टि समेत जनाइरहेका छन्। तर अधिकांशको भने यो अभियानमा समर्थन देखिन्छ।

प्रतिरोधमा मौन नेताहरू 

सामान्य आरोपमा पनि प्रतिवाद गरिरहने नेताहरू आफ्नो परिवारको सदस्यको अति सम्पन्न जीवनशैली र खर्चालु व्यवहार सार्वजनिक गर्दै आएका प्रश्नमा मौन छन्। उनीहरूको परिवारको सदस्यबाट पनि कुनै प्रतिक्रिया आएको छैन। 

'नेपो बेबी' 'नेपो किड' अभियानमा संलग्नहरूले उनीहरूको यति महँगो जीवनशैलीको स्रोतबारे निरन्तर प्रश्न गरिरहेका छन्। उनीहरूले भ्रष्टाचारको विरोध गर्दै सोमबार ९ बजे नयाँ बानेश्वरमा विरोध प्रदर्शनको आव्हान गरेका छन्। आन्दोलन घोषणासँगै जिल्ला सुरक्षा समिति बसेर विश्लेषण गरिरहेको छ।

भदौ २२, २०८२ आइतबार १४:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।