स्वास्थ्य जनशक्ति उत्पादन नियन्त्रण गर्न नहुने स्वास्थ्य मन्त्री पौडेलको तर्क

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्यको जनशक्ति उत्पादन बढाउनुपर्ने बताएका छन्। ‘गुणस्तरीयता कायम गरेर जनशक्ति बढाउन सकिन्छ भने त्यसलाई बढाउनुपर्छ, नियन्त्रण गर्नुहुँदैन,’मन्त्री पौडेलले भने,‘जनशक्तिविहीन स्वास्थ्य संस्थाले त सेवा दिन सक्दैन।’
मन्त्री पौडेलले शनिबार एशोसियशन अफ प्राइभे ट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन) को २७औं वार्षिक दिवस कार्यक्रममा बोल्दै नेपालमा नै काम गर्ने स्वास्थ्यका जनशक्ति अपुग भएको बताए। त्यसैले स्वास्थ्यको जनशक्ति बढाउनुपर्ने उनले तर्क गरे। ‘नेपाललाई (जनशक्ति) पुग्यो भन्ने त हुँदै हैन,’मन्त्री पौडेलले भने।
सरकारी र निजी दुवै संस्थालाई आम्दानी आवश्यक परेको तर्क गर्दै उनले ‘सरकारी शैक्षिक संस्थामा सरकारले थप लगानी गर्न सक्ने अवस्था’ नरहेको समेत तर्क गरे।
त्यसैले विदेशबाट पढ्न आउने विद्यार्थीको संख्या बढाउन खुकुलो रणनीति लिनुपर्ने मन्त्री पौडेलको तर्क छ।
तर, मन्त्री पौडेलले स्वास्थ्यको शैक्षिक छेत्र भने स्वास्थ्य मन्त्रालय अन्तर्गत नपर्ने तर्क गरे। ‘एकेडेमीक पार्ट स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्दैन’,उनले भने,‘स्वास्थ्य शिक्षाको विषय पनि शिक्षा मन्त्रालय अन्तर्गत नै पर्छ।’
स्वास्थ्य मन्त्री पौडेलले ‘एकेडेमिक पार्टलाई व्यवस्थित गर्ने सवालमा स्वास्थ्य मन्त्रालय आफैँ तालुकदार संस्था नभएकाले त्यसमा धेरै प्रष्ट छौँ भनेर दाबीगर्न’ नसक्ने तर्क गरे।
निजी अस्पतालको उपस्थितबिना स्वास्थ्य क्षेत्रको प्रगति नहुने उनको भनाई थियो।। ‘मेडिकल टुरिज्मको विकास निजी क्षेत्रको सहभागिताबिना कसरी सम्भव हुन्छ?’,मन्त्री पौडेलले भने।
कार्यक्रममा अफिनका अध्यक्ष डा. पदम बहादुर खड्काले नीति नियम बनाउने सवालमा निजी अस्पतालहरुलाई सहभागि नगराएको भन्दै स्वास्थ्य मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गरे।
त्यसैगरी कार्यक्रममा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा लगायतले निजी क्षेत्रलाई उपेक्षा गर्न नहुने तर्क गरे।
भदौ २२, २०८२ आइतबार १२:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।