‘नेपो बेबी’ अभियानले संसद भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेसँगै सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं : सामाजिक सञ्जालमा सुरु भएको ‘जेन जेजी आन्दोलन’लाई लिएर सुरक्षा निकाय सतर्क बनेको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने तयारी भइरहेकाले काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ।
युवाहरूले राजनीतिक नेतादेखि सरकारी कर्मचारी र न्याय क्षेत्रका व्यक्तिहरूका सन्तानले सामाजिक सञ्जालमा देखाएको सम्पन्न जीवनशैलीका भिडियो र तस्बिरहरू सार्वजनिक गर्दै आक्रोश पोखिरहेका छन्। उनीहरूले जनताले तिरेको करको दुरुपयोग गरी विलासी जीवन बिताएको आरोप लगाएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिल बोहराले आइतबार समितिको बैठक बसेर सोमबार हुने भनिएको प्रदर्शनबारे विश्लेषण र आवश्यक तयारी गर्ने जानकारी दिए। ‘बैठक बसेपछि त्यसबारे अध्ययन गरेर मार्गनिर्देशन तय हुन्छ,’ उनले भने।
यो आन्दोलनलाई सामाजिक सञ्जालमा ‘नेपो बेबी’ अभियानसँग जोडिएको बताइएको छ। इन्डोनेसिया हुँदै फिलिपिन्स र अहिले नेपालमा फैलिएको यस अभियानलाई समर्थन गर्नेहरूले सोमबार बिहान ९ बजे संसद भवन अगाडि भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
हाल सामाजिक सञ्जाल टिकटकमा हालेका भिडियोहरू भाइरल भइरहेका छन्। यो आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने अझै खुलेको छैन, तर अभियानलाई समर्थन गर्ने अधिकांश युवा पुस्ता देखिन्छन्।
भदौ २२, २०८२ आइतबार १२:०६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।