रुपन्देही-३ उपनिर्वाचन : प्रमुख दलहरू अझै अलमलमा, उम्मेदवार टुंग्याएकाहरू घरदैलोमा व्यस्त

बुटवल : रुपन्देही-३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। उम्मेदवारको टुंगो लगाएका साना दल भने प्रचार प्रसारमा लागिसकेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेसँगै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको टुंगो लगाएका छैनन्।
तर संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित कमल थापा नेतृत्वको राप्रपा नेपाल, जनमोर्चा र जनमत पार्टीले उम्मेदवार तय गरेसँगै चुनावी अभियानमा होमिएका छन्।
उनीहरूले मतदातासँगको भेटघाटलाई तीव्र बनाइसकेका छन्। निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा यी तीनवटै दलबाट उम्मेदवार तय भएकाहरू पार्टीको आन्तरिक छलफलदेखि चुनावी रणनीति बनाउनमा व्यस्त छन्। रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले भेटघाट कार्यक्रम थालिसकेका छन्। प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट भएका थापा सामाजिक सञ्जालमा चर्चामा छन्। उनले अहिले पार्टी कार्यकर्तासँग छलफलसहित मतदाताको घरदैलोमा जाने क्रम सुरु गरिसकेका छन्। ‘उम्मेदवार छनोट भएर आए लगत्तै अभियानमा लाग्नुभएको छ,’थापाको सचिवालयका एक सदस्यले भने।
यता सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेका धनिराम चौधरी पनि मतदातासँग भेटघाट सुरु गरेका छन्। ‘जनताको आवश्यकता के-के छन् ? समस्या के-के छन् ? यी बारेमा पनि मतदातासँग छलफल गरिरहेको छु। सबै क्षेत्रमा पुग्नेगरी क्रमशः योजना बनाउँदै भेटघाट गरिरहेको छु,’ उनले भने।
चौधरी रुपन्देहीको सियारी गाउँपालिका-२ का हुन्। केही साता अघि मात्र उनी जनमत पार्टीमा प्रवेश गरेका थिए। गत २०७९ को निर्वाचनमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नं. १ मा उम्मेदवार बनेका थिए।
त्यस्तै, राप्रपा नेपालबाट उम्मेदवार बनेका अर्जुन थापा पनि चुनावी अभियानमा लागेका छन्। उनले दक्षिणी क्षेत्रबाट भेटघाट थालेको बताए। कमल थापा नेतृत्वको राप्रपा नेपालका रुपन्देही जिल्ला अध्यक्षसमेत रहेका थापाले जनताको दबिएका आवाज उठाउने र स्थानीय स्तरका साना तर दीर्घकालीन महत्वका योजनाहरूको आवाज उठाउने भन्दै मत मागिरहेका छन्। लुम्बिनी प्रदेशले जिल्लाबाट सिफारिस गरेका ३ जनामध्ये थापालाई सिफारिस गरेपछि अर्जुनलाई पार्टीले उम्मेदवार बनाएको हो। ‘घरदैलोमा पुग्दा जनतामा धेरै निराशा देखिएको छ। यो चिन्ताजनक विषय हो। हामीले नगरे कसले गर्छ भनेर मतदातालाई सम्झाउने गरेको छु,’ उनले भने।
यस्तै, राष्ट्रिय जनमोर्चाका बद्रे आलम पनि मत माग्न व्यस्त भएका छन्। सबैभन्दा पहिले उम्मेदवारको टुंगो जनमोर्चाले लगाएको थियो।
यता स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी अभियानमा व्यस्त छन्। बालेनका खाद्य सल्लाहकार सन्तोष गिरीले तीन साता देखि मतदातासँग भेटघाट गरिरहेका छन्। त्यस्तै, पत्रकार सम्मेलन गरेर उम्मेदवारी दिने घोषणा गरेका भैरहवाका अजयकुमार गुप्ता र बुटवलका लेखनाथ गैरेले पनि चुनावी अभियान सुरु गरिसकेका छन्।
ठूला दल अझै छलफलमा
एमालेबाट खिमलाल भट्टराई र व्यवसायी शशी पौडेलको सम्भावना बलियो भएपनि पार्टीले अझै कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन। भट्टराई र पौडेल दुवै जना टिकट पाउन केन्द्रमा लबिङ गरिरहेका छन्।
व्यवसायीक रुपमा गाई पालन गर्दै आएका पौडेल पार्टीलाई सहयोग गर्दै आएपनि मतदातासम्मको पकड खासै नभएको भट्टराई पक्षको तर्क छ। भट्टराईले कार्यकर्ता माझ आफू लोकप्रिय रहेको दाबी गर्दै आएका छन्। यसरी हेर्दा एमालेमा आन्तरिक द्वन्द्वका कारण उम्मेदवार टुंगो लगाउन समय लागिरहेको देखिन्छ। एमालेले भट्टराई, पौडेल, यज्ञजित साह र हरि अधिकारीको नाम केन्द्रमा सिफारिस गरिसकेको छ।
गत साता मात्र एमालेले रुपन्देहीको दक्षिणी क्षेत्रबाट हजारौंलाई पार्टीमा प्रवेश गराएको थियो। रुपन्देहीका दुईवटा गाउँपालिकका पूर्व अध्यक्ष सहित उनिहरूका समर्थक एमालेमा प्रवेश गरेका थिए।
नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्व गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानिया आफ्ना समर्थकहरू सहित एमालेमा प्रवेश गरे।
शुक्ला रुपन्देहीको दक्षिण मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष हुन भने बानियाँ मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष हुन। शुक्ला र बानियाँ दुबै जनाले आफ्नो पालिकामा मात्र नभई छिमेकी पालिकामा समेत आफ्नो प्रभाव जमाउने गरेका थिए।
उनिहरूलाई एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले टिका लगाएर एमालेमा स्वागत गरेका थिए।
यता नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवार बीच छलफल नै चलाएको छैन। रुपन्देही-३ पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र हो ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी भित्र उम्मेदवारको विषयमा छलफल नभएको र अहिले निर्वाचन क्षेत्रको अवस्था बारे जानकारी लिने काम भइरहेको बताए। ‘केन्द्रबाट निर्णय आएपछि मात्र हामीले बाँकी काम सुरु गर्छौ’ उनले भने।
निर्वाचन क्षेत्रको माहोल बुझ्न चुनावी कमान्डर बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा दुई पटक रुपन्देही आइसकेका छन्।
नेकपा माओवादी केन्द्रले पनि अहिले सम्म उम्मेदवारको टुंगो लगाएको छैन। यस पटक आफ्नै उम्मेदवार हुने बताएको माओवादी केन्द्रले अहिले उम्मेदवारको विषयमा छलफल चलिरहेको बताए।
नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसीले केही दिनमै उम्मेदवार सिफारिस गर्ने गरी पार्टी छलफलमा रहेको बताए। माओवादीबाट सोनिया यादव, मनिष जोशी, वीरबहादुर रोकालगायतको नाम उम्मेदवारका लागि चर्चामा छ।
राप्रपा भित्र उम्मेदवार चयन प्रक्रियामै विवाद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय गरे सँगै पार्टी भित्र विवाद सुरु भएको छ। राप्रपाको संसदीय समितिको मंगलबार बसेको बैठकले उपनिर्वाचनमा प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको थियो। संसदीय समितिले निर्णय गरे लगत्तै पार्टी भित्र विवाद सुरु भएको हो।
अध्यक्ष लिङ्देन पक्ष प्राइमरी इलेक्सनको पक्षमा उभिदा संस्थापन इतर पक्षले (विक्रम पाण्डे /धवल शम्शेर) भने विरोध गरिरहेको छ। राप्रपाले प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने भनेपछि आकांक्षीमध्ये दीपक बोहराका एक छोरा प्रज्वलले उम्मेदवारी घोषणा गरिसकेका छन्।
उपनिर्वाचनका लागि राप्रपाबाट गौरव बोहरा, प्रज्ज्वल बोहरा, स्वाति थापा, बसन्त विक्रम शाही लगायत ६ जना उम्मदेवारका आकांक्षी छन्।
आकांक्षी चार जनाले जसलाई उम्मदेवार बनाएपनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। गौरव, प्रज्ज्वल र स्वाति यसै क्षेत्रबाट निर्वाचित पूर्व सांसद दीपक बोहराका परिवारका सदस्य हुन।
यस्तो छ यस क्षेत्रको विगत
यो क्षेत्रबाट २०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले जितेका थिए। २०५१ सालमा एमालेका धनपति उपाध्यायले जिते। उपाध्यायको निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जिते। २०५६ सालमा फेरि काङ्ग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना हुँदा बालकृष्ण खाँण नेपाली कांग्रेसबाट निर्वाचित भए।
२०७० सालमा दीपक बोहोरा राप्रपाबाट, २०७४ मा घनश्याम भुसाल एमालेबाट र २०७९ सालमा दीपक बोहोरा एमालेको समर्थनमा राप्रपाबाट विजयी भए।
२०७४ सालमा नेपाली कांग्रेसले राप्रपाका नेता दीपक बोहोरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिकमा राखेको थियो, तर नेकपा एमालेका तर्फबाट घनश्याम भुसालले ३२,८६६ मत ल्याएर जित्दा बोहोराले २७,४२६ मत ल्याए। २०७४ मा एमाले र नेकपा माओवादी मिलेर लडेका थिए।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो। एमालेले १६ हजार ६८६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार १५४ मत पायो। राप्रपाले भने जम्मा ८ हजार १८३ मत पायो।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो। लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७०, माओवादी केन्द्रले २ हजार ६० सय, जनमुक्ति पार्टीले १ हजार ९०, हाम्रो नेपाली पार्टी लौराले १ हजार ३४६ र नेकपा एसले ७८१ मत पाएका थिए।
२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यस निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।
रुपन्देही-३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तम नगरपालिकाको १३ र १४, र बुटवल उपमहानगरपालिकाको १४ देखि १८ वडा समेटिएको छ।
भदौ २२, २०८२ आइतबार १२:३१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।