प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि आज माइतीघरमा विरोध प्रदर्शन हुने

काठमाडौं : सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध आज दिउँसो माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन हुने भएको छ।
विरोध कार्यक्रम आयोजकहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय प्रेस स्वतन्त्रता, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भएको बताएका छन्।
‘प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि हामी आज २ बजे माइतीघरमा शान्तिपूर्ण रूपमा आवाज उठाउँदैछौँ,’ आयोजकहरूले भनेका छन्।
हाल सरकारले सूचीकरणमा नपरेका २६ वटा सामाजिक सञ्जाललाई तत्काल बन्द गर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायकहरूले सरकारले तोकेका सञ्जालहरू नचल्ने बनाएका छन्। सरकारको यो निर्णयविरुद्ध नागरिक समाज, सञ्चारकर्मी, विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिहरू आन्दोलित बनेका छन्।
आजको विरोध कार्यक्रममा सामाजिक सञ्जाल प्रयोगकर्तादेखि स्वतन्त्र पेशामा संलग्न व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ।
भदौ २२, २०८२ आइतबार ११:३०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।