वैदेशिक रोजगारीको विकल्प छाडेर स्वदेशमै साबुन उद्योग सञ्चालन

बागलुङ : बागलुङमा एक करोड रुपैयाँ लगानीमा साबुन उत्पादन उद्योग सञ्चालनमा आएको छ। काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले ‘कालिका साबुन’ ब्रान्डअन्तर्गत भाँडा र कपडा धुने साबुन उत्पादन गर्दै आएका छन्।
दुवै स्नातकोत्तर उत्तीर्ण तीर्थ र ताराले विदेश रोजगारीको विकल्प छाडेर स्वदेशमै उद्यम थालेका हुन्। २०७८ सालमा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा दर्ता गरिएको ‘टिएण्डटी म्यानुफ्याक्चरिङ’ले २०८० देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। सुरुमा ५० लाख रुपैयाँ लगानी गरिएको उद्योगमा हाल लगानी एक करोड नाघेको छ।
हाल उद्योगले छ स्थानीयलाई रोजगारी दिएको छ भने बागलुङ, म्याग्दी र पर्वतका बजारमा साबुन बिक्री हुँदै आएको छ। आगामी दिनमा सरफ, हार्पिक र कुलिनजस्ता वस्तु उत्पादन गर्ने योजना उद्योग संचालक ताराले बताए।
‘विदेश जानुभन्दा यहीँ केही गर्नुपर्छ भन्ने सोचले हामीले साबुन उद्योग सुरु गरेका हौँ,’ उनले भनिन्, ‘यसबाट गाउँमै रोजगारी सिर्जना भएको छ।’
साबुन उत्पादनका लागि कच्चा पदार्थ मुख्यतया भारत र केही काठमाडौँबाट ल्याइन्छ। उद्योगले वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने बताइएको छ। हाल दुई सय ग्रामको कालिका साबुन प्रतिपिस ५० रुपैयाँमा बिक्री भइरहेको छ।
भदौ २२, २०८२ आइतबार १०:०७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।