नेपो बेबी अभियानले घोषणा गर्यो आन्दोलन, सोमबार बानेश्वरमा प्रदर्शन

काठमाडौं : इन्डोनेसियाबाट फिलिपिन्सहुँदै नेपाल भित्रिएको 'नेपो बेबी' अभियानमा संलग्न युवा समूहले भदौ २३ मा प्रदर्शनको आव्हान गरेको छ।
इन्स्टाग्राम र टिकटकबाट व्यक्तिगत रूपमा अगाडि बढिरहेको यो अभियानका समर्थकहरूले राजनीतिक पदमा रहेकाहरूको सन्तानको महँगो जीवनशैली सार्वजनिक गर्दै आएका छन्।
मुख्य कांग्रेस सभापति शेरबहादुर देउवाको छोरा जयवीर देउवा, सर्वहाराको दल दाबी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी गंगा, नातिनी स्मिताको महँगो शौक लगायतको तस्बिर र भिडियो सार्वजनिक गरेर यसको स्रोतबारे प्रश्न गरिरहेका छन्।
आफूहरूलाई जेनजी पुस्ताको सदस्य दाबी गरिरहेकाहरूले सामाजिक सञ्जालमा नेता, सरकारी कर्मचारी, न्याय क्षेत्रका व्यक्तिहरूको सन्तानले सामाजिक सञ्जालमा राखेको सम्पन्न जीवनशैलीका तस्बिर र भिडियो सार्वजनिक गरिरहेका छन्।
उनीहरूले नै सोमबार बिहान ९ बजे नयाँ बानेश्वरमा संसद् भवन अगाडि भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शनको आव्हान गर्दै सामाजिक सञ्जालहरूमा सामग्री राखिरहेका छन्।
उनीहरूले नागरिकले तिरेको करको दुरुपयोग गरेर आफ्ना सन्तानलाई सम्पन्न जीवनशैली अपनाएर खर्च गर्न दिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।
यो समूहको नेतृत्व कसले गरेको छ खुलेको छैन। यस अभियानलाई समर्थन गरेर भिडियो बनाउनेहरू अधिकांश युवा पुस्ताका देखिन्छन्।
सामाजिक सञ्जालमा भिडियो राखेर लाइक र कमेन्ट गर्दैमा परिवर्तन नहुने भन्दै उनीहरूले आन्दोलनमा सहभागी हुन अनुरोध गरिरहेका छन्।
के हो 'नेपो बेबी' अभियान ?
'नेपो बेबी'भन्नाले त्यस्ता बच्चाहरूलाई जनाइन्छ जसले आफ्ना परिवार वा शक्तिशाली नातागोताको कारण अवसर, सम्पत्ति वा पद पाउँछन्।
योग्यता वा क्षमता भन्दा नातावादका कारण सफल हुनेहरूलाई व्यङ्ग्यात्मक रूपमा यो शब्द प्रयोग हुन्छ। विश्वभर चर्चित यो शब्द अहिले विशेष गरी फिलिपिन्स र इन्डोनेसियामा फैलिएको छ।
इन्डोनेसियाका राष्ट्रपति राष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि ठूलो विवाद उठ्यो।
योगदान र अनुभव नभए पनि शक्तिको आधारमा उदाउने पुस्ताको रूपमा संकेत गर्दै 'नेपो बेबी' को उपमा दिएर विरोध सुरु भएको थियो।
राजनीतिमा फैलिएको नेपोटिजम वा परिवारवादको विरोधमा सुरु भएको आन्दोलन रिडइट, टिकटक र इन्स्टाग्रामहुँदै फैलियो र अन्य नेताको सन्तानको जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो। इन्डोनेसियामा यो बढी राजनीतिक विषयमा केन्द्रित भयो।
त्यसको असर फिलिपिन्समा पनि देखियो तर यो राजनीतिक मुद्दामा भन्दा पनि सार्वजनिक पद धारण गरेकाहरूको महँगो र सुविधासम्पन्न जीवनशैली एक्सपोज गर्न केन्द्रित भयो।
फिलिपिन्समा यो आन्दोलनलाई बाढी नियन्त्रणमा भएको खर्च र त्यसमा भएको भ्रष्टाचार केन्द्रित देखियो। अनि भ्रष्टाचारमा संलग्न भनिएका ठेकदार र नेताका छोराछोरीले सामाजिक सञ्जालमा देखाएको महँगो जीवनशैलीका तस्बिर र भिडियो राखेर विरोध सुरु भयो।
सञ्जालमा उनीहरूको लक्जरी गाडी, महँगो विदेश यात्रा र ब्रान्डेड सामान देखाउँदै गरेका पोस्टहरू फैलाउन थाले।
त्यसको प्रभाव सामाजिक सञ्जालमा भिजेका नेपालका नयाँ पुस्तामा समेत पर्यो। रिडइटहुँदै इन्स्टाग्राममा यो अभियान फैलिँदै थियो। यही बिचमा सरकारले २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि टिकटकमा यसको प्रभाव बढ्यो।
नेपालमा फिलिपिन्सको शैलीमा नेता, सरकारी कर्मचारी लगायतकाहरुको सन्तानको महँगो जीवनशैली सार्वजनिक भइरहेका छन्। र यो अभियान सोमबार सार्वजनिक विरोध प्रदर्शनको चरणसम्म पुगेको छ।
भदौ २२, २०८२ आइतबार ००:१८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।