एभरेष्ट महिला भलिबल लिगमा शनिबार मधेस, ललितपुर र कर्णालीको जित

एभरेष्ट महिला भलिबल लिगमा शनिबार मधेस, ललितपुर र कर्णालीको जित

कास्की : पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन्। 

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो। मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो। 

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाईकर्सलाई ३-० सोझो सेटमा पराजित गरेको थियो। ललितपुरले काठमाडौँलाई २५-१९, २५-२३, २५-२१ ले हरायो। ललितपुरको यो लगातार दोस्रो जित हो।

यसैगरी आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३-१ को सेटले राजित गरेको थियो। पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो। 

लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछन् । पहिलो खेल मधेस युनाइटेड र काठमाडौं स्पाईकर्सबीच दिउँसो २ बजेबाट सुरु हुनेछ। आइतबारको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल साँझ ४ बजेबाट सुरु हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म सञ्चालन हुनेछ।

भदौ २१, २०८२ शनिबार २२:०२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।