‘हिट एन्ड रन’ घटनामा सहमति, उपचारपछि प्रदेश मन्त्रीले बालिकालाई दिए २० हजार रुपैयाँ

काठमाडौं : प्रदेशका मन्त्री चढेको सरकारी गाडीले ११ वर्षिया बालिकालाई ठक्कर दिएर भागेको घटनामा उपचार र माफीपछि सहमति गराएर प्रहरीले गाडी छाडेको छ। चालकमाथि थप कुनै कारबाही प्रक्रिया अगाडि बढेको छैन।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले शनिवार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा पैदल हिँडिरहेकी ११ वर्षकी उषा मगरलाई जेब्राक्रस नजिकै ठक्कर दिएर भागेको थियो।
सवारी दुर्घटनामा ठक्कर दिएर भाग्नु गम्भीर अपराध मानिन्छ। नेपालको सवारी ऐनमा ‘हिट एन्ड रन’बारे थप कानुनी प्रावधान छैन। यसलाई लापरबाहीबाट दुर्घटना गराएको मानिन्छ जसमा आठ वर्षसम्म कैद सजाय हुनसक्छ।
ललितपुरको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र घाइते बालिकाको परिवारबीचको छलफलमा मन्त्री मगरले लिखित रूपमा माफी माग्ने र बालिकाको सबै उपचार गर्ने सहमतिपछि दुर्घटना मुद्दा प्रक्रियामा नगई सहमतिमा टुङ्गिएको छ।
छलफलमा सहभागी जानकारका अनुसार प्रदेश मन्त्री मगरले पीडित बालिकाको परिवारसँग माफी माग्दै उपचारको सबै खर्च बेहोर्दै थप २० हजार रुपैंया दिएका थिए।
हरिसिद्धिबाट भागेर बाँडेगाउँ
ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा दुर्घटनापछि मन्त्री सवार गाडी बाँडेगाउँमा रहेको प्रहरी कार्यालय पुगेको थियो। चालक र गाडी त्यही राखेर मन्त्री एमालेको विधान अधिवेशनमा गएका थिए।
बालिकालाई उपचारका लागि बिएण्डबी अस्पताल लगियो। प्रारम्भमा घटना सार्वजनिक भएको थिएन। मन्त्रीको गाडीले जेब्राक्रस नजिकै बालिकालाई ठक्कर दिएपछि नरोकी भागेको सिसिटिभी फुटेज नै बाहिरिएपछि विरोध सुरु भयो।
सिसिटिभी फुटेजमा मन्त्रीको गाडीले हिर्काएपछि सडकमा लडेकी बालिकाको वास्तै नगरी गाडी भागेको र सडकमा रहेको अर्को बाइकमा रहेकाले रोकेर बालिकालाई उठाएको देखिन्छ।
त्यसपछि बालिकालाई उपचारका लागि अस्पताल लगियो। स्थानीयले कारबाहीको माग गर्दै सडक अवरुद्ध गरे। बालिकाको सबै स्वास्थ्य परीक्षणपछि सामान्य अवस्था रहेको भन्दै चिकित्सकले डिस्चार्ज गर्ने तयारी गरेपछि मन्त्री मगरले फोन गरेर बालिकाको परिवारका सदस्यसँग माफी माग्दै बालिकाको उपचारको गर्ने वचन दिए। पछि उनी आफैँ अस्पताल गएर बालिका र उनको परिवारका सदस्यहरूसँग भेटेका थिए।
मन्त्री मगरले अनजानमा दुर्घटना भएको, सुरक्षाको कारण तत्काल घटनास्थलमा गाडी नरोके पनि बाँडेगाउँको प्रहरी कार्यालयमा चालक आफैँ उपस्थित भएको र दुर्घटनाका कारण भोलीका दिनमा बालिकामा कुनै स्वास्थ्य समस्या देखिए उपचार गराउने लिखित सहमति गरेका थिए।
बालिकाको परिवार सहमतिका लागि राजी भएपछि सहमति भएको थियो। सहमतिपछि मन्त्रीले उपचारमा लागेको खर्च बाहेक थप २० हजार रुपैयाँ दिएका थिए।
‘मन्त्रीमाथि आक्रमणको चुनौतीले भागेको’
दुर्घटनास्थलमा इन्द्रजात्राको माहौलमा स्थानीय रहेको, यस अगाडि भिडमा मन्त्रीको गाडी रोक्दा थप आक्रमण भएको र पिएसओले सुरक्षाका कारण गाडी नरोकेको भन्दै बालिकाको अभिभावकलाई प्रहरीले नै ब्रिफिङ गरेको थियो। सिटी स्क्यान लगायत बालिकाको सबै परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको र सडकमा लड्दा अनुहार नजिकै दर्फराएको घाउ मात्र रहेको चिकित्सकीय रिपोर्ट पछि परिवारका सदस्य समेत सहमत भएका थिए।
उनीहरू सहमतिका लागि राजी भएपछि प्रहरीले नियन्त्रणमा लिएको मन्त्रीले प्रयोग गर्ने सरकारी गाडी छाडेका थिए। प्रहरीले शनिवार दिनभरै चालकलाई भने नियन्त्रणमा लिएकै थिएन।
सम्बन्धित समाचार
भदौ २१, २०८२ शनिबार २१:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।