एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, आइतबार ओलीले जवाफ दिने

काठमाडौं : एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र शनिबार सकिएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा आज प्रस्तुत सातवटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० समूहमा विभाजन गरी छलफल गरिएको थियो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका प्रतिनिधि, उपत्यका विशेष प्रदेश, जनसङ्गठन, सम्पर्क समिति, प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि र विभागीय संरचनाका सदस्यहरूले छुट्टाछुट्टै छलफल गरेका थिए।
आइतबार बिहान ८ बजेदेखि सुरु हुने सत्रमा प्रत्येक समूहका टोली नेताले सुझाव प्रस्तुत गर्ने र त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको गौतमले जानकारी दिए। सोही दिन समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन समापन गर्ने तयारी छ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै, अनुशासन आयोग अध्यक्ष केशव वडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बाले आफ्ना प्रतिवेदन पेस गरेका थिए। स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमाथि पनि समूहगत छलफल भएको थियो।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा २,३४१ जना प्रतिनिधि सहभागी छन्।
भदौ २१, २०८२ शनिबार १९:२६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।