नेपालमा छैन ‘हिट एण्ड रन’ को कानुन, तर बदनियत देखिए चालकलाई हुनसक्छ ८ वर्ष कैद

काठमाडौं : सवारी दुर्घटना गराएर भाग्नु गम्भीर आपराधिक घटना मानिन्छ। तर, नेपालमा यसबारे प्रष्ट कानुनी व्यवस्था नै छैन।
सवारी दुर्घटना चालकको नियतमा बढी केन्द्रीत छ। कानुन अनुसार अनुसन्धान हुने हो भने ११ वर्षकी पैदल यात्री किशोरीलाई ठक्कर दिएर गाडी भगाउने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरका चालकलाई ८ वर्षसम्म सजाय भने हुनसक्छ।
मन्त्री चढेको सरकारी गाडीले पैदल हिँडिरहेकी ११ वर्षकी उषा मगरलाई ठक्कर दिएर गाडि भागेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यस्तो गतिविधिलाई लापरबाहीपूर्ण सवारी चलाएको देखाउँछ।
ऐन अनुसार कसैले कुनै सवारी चलाउँदा कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहँदा वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे कसैको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएको अवस्थामा त्यसको लापरबाही गरिएको भए सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।
ऐनमा हुनसक्ने सजायलाई तीनदेखि १० वर्ष राखेर सजाय निर्धारण गर्न सम्बन्धित इजलासको न्यायाधीशलाई स्वविवेकीय अधिकार दिएको छ। यसको दुरुपयोग हुन नदिन कस्तो प्रकारको दुर्घटनामा कसरी सजाय निर्धारण गर्ने भन्नेबारे सर्वोच्च अदालतले सजाय निर्धारण मार्गनिर्देशन बनाएको छ।
सो मार्गदर्शनमा सवारी चलाउने प्रकृति र घाइतेको अवस्थाको आधारमा सजाय निर्धारणलाई (क) र (ख) मा बर्गिकरण गरेको छ। ललितपुरमा जुन प्रकृतिको अपराध भएको छ त्यो (क) अनुसार देखिन्छ जसमा सजायको मध्यम विन्दु ८ वर्ष कैद हुनसक्ने उल्लेख छ।
सोही मार्गदर्शनमा सवारी चलाउनेको कसुरको गम्भीरता र दोषीपनासँगै बालबालिका विरुद्धको कसुरलाई दण्ड, सजाय निर्धारणमा आधार लिनुपर्ने उल्लेख छ।
के गरिरहेको छ प्रहरीले?
यस्तो प्रकृतिको घटनामा गाडीसँगै चालकलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले अनुसन्धान अगाडि बढाउने काम गर्छ।
तर प्रायजसो दुर्घटनामा घाइते भएको अवस्थामा घटनाको प्रकृति र चालकको मनसायका आधारमा अनुसन्धान गर्नुभन्दा पनि पीडक र पीडितबीच ट्राफिकले मिलेमतो गराएर विषय टुंग्याउने गर्छ।
शनिबारको घटनामा प्रधानमन्त्री केपी ओलीले नै गम्भीर घटनालाई सामान्यीकरण गर्दै उपचार खर्च पार्टीले दिन्छ भनिसकेका छन्। प्रधानमन्त्री ओली आफैँ घटनालाई सामान्यीकरण गर्न सक्रिय भएकाले अनुसन्धान हुने सम्भावना समेत कम छ।
पार्टीको विधान अधिवेशनमा सहभागी हुन जाँदा भएको दुर्घटनालाई एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टी विरुद्धको गतिविधिको रूपमा अपव्याख्या गरे।
ट्राफिक प्रहरीले मन्त्री सवार गाडी गोदावरीमा नियन्त्रणमा लिएको दाबी गरेको छ। तर, चालकबारे केही उल्लेख गरेको छैन।
भदौ २१, २०८२ शनिबार १८:४७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।