सञ्चारमन्त्रीको इगोले सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा

सञ्चारमन्त्रीको इगोले सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमा भएको आलोचना सहन नसकेर सरकारले इगोका आधारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको आरोप लगाए। 

डिजिटल मिडिया फाउन्डेसनको आयोजना शनिवार ललितपुरमा भएको आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतको फैसलाका आधारमा टेकेर सरकारले निर्णय गरेको भन्दै अदालतले बन्द गर नभनी नियमन गर मात्र भनेको र नियमन कानुन बनाएर गर्नुपर्ने बताए। 

उनले यसले राजनीतिक, सामाजिक, आर्थिक र अपराध अनुसन्धानसम्मको चरणमा नकारात्मक असर पर्ने भन्दै सरकार"हामीले भनेको नमान्ने? देखाइदिउँ" भन्ने इगोमा पुगेर सामाजिक सन्जाल बन्द गरेको तर्क गरे। उनले यसमा सन्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको इगोका कारण सामाजिक सन्जाल बन्द गरिएको दाबी समेत गरे। 

सरकारले आपराधिक घटना देखाएर सामाजिक सन्जाल बन्द गराएको तर कानुनी बाटोबाट बन्द भए पनि भिपिएन चलाएर हुने अपराध नियन्त्रण झन् जटिल बन्ने बताए। 

पार्टी उपसभापती स्वर्णिम वाग्लेको ‘डिपफेक’ भिडियो बनाएर भ्रम फैलाउने काम भएपछि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन जाँदा सामाजिक सन्जाल बन्द भयो भने यस्ता अपराधमा कसरी अनुसन्धान गर्छ भनेर प्रहरी अधिकारीसँग जिज्ञासा राख्दा अनुसन्धान थप जटिल बन्ने बताएको बताए। 

ब्यूरोमा बुझ्दा दैनिक ५८ वटा साइबर क्राइम सम्बन्धी उजुरी पर्ने गरेको जानकारी दिए। 

‘अहिले त कुनै न कुनै रूपमा अनुसन्धान सम्भव छ। स्वर्णिम वाग्लेको ‘डिपफेक’ भिडियोकै सवालमा पनि दुई जना पहिचान भइसक्यो। भिपिएनको प्रयोग गरेर यस्तो भयो भने त झन् जटिल हुने देखियो।’  

व्यक्तिले आफ्नो भावना अभिव्यक्त गर्न कुनै न कुनै माध्यम प्रयोग गर्ने र सो स्थान सामाजिक सञ्जालले पूरा गरेको भन्दै भोलि सरकारको कामको असन्तुष्टि विरुद्ध सञ्जालका प्रयोगकर्ता सडकमा प्रदर्शनमा आए सरकारलाई गाह्रो पर्ने बताए। 

‘१० हजार मात्र प्रयोगकर्ता माइतीघरमा विरोध प्रदर्शन गर्न आए भने यो सरकारले व्यवस्थापन गर्न सक्छ?’ उनले प्रश्न गरे। 

सभामुख देवराज घिमिरे प्रमुख अतिथि भएको राष्ट्रिय सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका विज्ञ र जानकारसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय सय बढि प्रतिनिधि सहभागी थिए।

भदौ २१, २०८२ शनिबार १६:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।