फूलको जीवन

फूलको जीवन

फूलबारीमा बसेर 
तिम्रो कथा
तिमी आफैले लेख्नु पर्ने छ 
फूलहरूको जीवन तहसनहस पारी 
फूलहरूको वीभत्स हत्या गरिएको छ  
कथित देवता पूजा गर्न 
देवता पटक्कै बोल्दैनन्
जीवन बलि दिँदा पनि। 

म प्रतिवाद गर्छु 
नचढाउ फूल गद्धारहरूका लासमाथि
नपहिर्याउ माला राष्ट्रघातीका काँधमाथि
फूललाई हाँस्न देउ  
फूल फूलेकै हाँगामाथि
भमराहरू घुम्न देउ
फक्रेको फूलमाथि। 

फूललाई गंगामा बगाएर 
मोक्ष प्राप्ति हुने भए
सयौं थुँगा फूल बगाउँथे म 
मेरा पनि कयौं पापहरू थिए होलान
ढुङ्गालाई फूल चढाई 
के गर्दैछन् मान्छेहरू ?
पाप मोचन होला भनी
भ्रममा बाँचेका छन् तिनीहरू। 

तिम्रो मेरो वियोगान्त कथा जस्तो 
फूलको पनि वियोगान्त कथा होला
जवरजस्ती तरुनीका चुल्ठोमा उनिएर 
मौन विलाप गरेपछि 
विद्रोहको राग अलाप्छे होला। 

फूल र विद्रोह 
विद्रोह र स्वतन्त्रता
फूललाई आफ्नै लयमा फुल्न देउ 
अनायसै जब चुडिन्छ फूल
स्वभावतः फूल रुनु पर्ने 
फूल त नरोएरै 
बाँच्न पाउने अधिकारको खोजि गर्छे 
विद्रोहको गीत गाएर 
स्वतन्त्रता खोजि बस्छे। 

निहत्था छन फूलहरू
जसरी तिमी निहत्था छौ 
तिम्रो यात्रा
तिम्रो आन्दोलन
चौरस्ता नपुगी गुज्रिएको छ 
तिम्रो यात्रा र आन्दोलन तुहाएर 
काखी बजाउनेहरू
आत्मरतिमा रमाउँदै होलान
तिमी कायर नबनी
तिम्रो यात्रा र आन्दोलनको पुनः मूल्याङ्कन गरे पछि 
तिम्रो यात्रा र आन्दोलन उचाइमा पुग्नु पर्ने हुन्छ। 

तिम्रो जीवन पढिरहेछन् फूलहरू  
फूलको जीवन तिमी पनि पढ 
सायद, फूलहरू मुस्कुराउनेछन्  
तिम्रो जित भएपछि।
 

भदौ २१, २०८२ शनिबार १६:०५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।