भारत-अमेरिका सम्बन्ध अझै सकारात्मक रहेको मोदीको दाबी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको सम्बन्ध अझै पनि सकारात्मक र अग्रगामी रहेको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रताको कुरा दोहोर्याएपछि मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको मूल्याङ्कनप्रति म प्रशंसा व्यक्त गर्छु। भारत र संयुक्त राज्य अमेरिकाबीच धेरै सकारात्मक र व्यापक अग्रगामी विश्वव्यापी रणनीतिक साझेदारी कायम छ।’
यो भनाइ भारतले रुसी तेल किनिरहेको भन्दै अमेरिकाले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएको र त्यसबाट उत्पन्न भएको तनावको बीचमा आएको हो।
राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालदेखि नै घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। हालै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पनि आफू सधैं मोदीको मित्र रहने बताएका थिए। उनले भारतसँगको विशेष सम्बन्धलाई जोड दिँदै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए।
यसैबीच गत साता मोदी चीन पुगेका थिए, जहाँ उनले साङ्घाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा भाग लिए।
गत मे महिनामा भारत-पाकिस्तानबीच दशकौँ यताकै खराब द्वन्द्वपछि शान्ति स्थापनाको श्रेय लिने क्रममा ट्रम्प नयाँदिल्लीप्रति असन्तुष्ट देखिएका थिए। काश्मिर विवादमा तेस्रो पक्षको मध्यस्थतालाई भारतले ठाडै अस्वीकार गरेपछि दुई नेताबीचको दूरी बढेको देखिएको थियो।
भदौ २१, २०८२ शनिबार १५:४२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।