व्यक्तिले गरेको गल्तीको जिम्मा पार्टीले लिँदैन : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभन्दा पनि व्यक्तिले गल्ती गर्ने भएकाले त्यसको जिम्मा व्यक्तिगत स्तरमै लिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौँ महानगर–३० कार्यसमितिले आज आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण अनिवार्य रहेको धारणा राखे।
उनका अनुसार, कांग्रेस स्थापनाकालदेखि नै राष्ट्रिय पार्टी भएकाले यसलाई बदनाम बनाउने काम कुनै व्यक्तिको गल्तीका कारण हुनुहुँदैन। उनले भने, “पार्टीले गल्ती गर्दैन, गल्ती गर्ने व्यक्तिले त्यसको परिणाम भोग्नुपर्छ।”
महामन्त्री थापाले बिपी कोइरालाको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै पार्टी र अग्रज नेताहरूले बिपीका सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए।
उनले कांग्रेसलाई डर र लोभबाट मुक्त बनाउनुपर्ने भन्दै भने, “सरकारमा रहनु वा नरहनु ठूलो कुरा होइन, तर चुनाव हार्ने डर वा गठबन्धन गरेर अर्काको चिह्नमा भोट हाल्ने लोभ त्याग्न जरुरी छ।”
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगर–३० का सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडा लगायतका नेताहरूले पनि बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे विचार प्रस्तुत गरे।
भदौ २१, २०८२ शनिबार १४:२४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।