सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो जाँदैन : योगेश भट्टराई

काठमाडौं : सत्तारुढ दल एमालेका सांसद योगेश भट्टराईले सरकारले निर्देशिकाको आधारमा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध लामो समय नजाने बताएका छन्।
उनले यस्ता संवेदनशील विषयमा नियमन गर्न निर्देशिका नभई संसदबाटै कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद भट्टराईले भने, ‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सकिँदैन भन्नेमा म प्रस्ट छु। यसका लागि संसदमा पुगेका विधेयकहरू पास हुनुपर्छ।’
उनले संसदबाट कानुन पारित भएपछि मात्र नियमन सुरू हुने अपेक्षा गरे पनि सरकारले हतारमा निर्देशिकाबाट काम थालेको भन्दै असन्तुष्टि जनाए।
सरकारको कदमप्रति आलोचनात्मक देखिए पनि भट्टराईले नियमन पछाडिको मनसाय सही हुन सक्ने संकेत गरे।
‘नेपालभित्र सेवा दिनेहरूलाई जिम्मेवार बनाउन सरकारले नियमन सुरू गरेको हुन सक्छ’, उनले भने।
यद्यपि, उनले प्रक्रियागत त्रुटि औंल्याउँदै थपे, ‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन, जानु पनि हुँदैन। संसदमा विचाराधीन कानुनहरूलाई चाँडो पारित गरेर त्यसैको आधारमा अघि बढ्नुपर्छ।’
उनले सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी कानुनहरू संसदमा प्रक्रियामा रहेको उल्लेख गर्दै तिनै कानुनले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बाटो खोल्ने बताए।
भदौ २१, २०८२ शनिबार १४:१४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।