ओलीको अलोकतान्त्रिक शैली : फरक मत राख्न मञ्चमा पुगेका थापालाई भने- ‘मलाई कन्भिन्स गर्न सक्नुभएन, जानुस्’

ओलीको अलोकतान्त्रिक शैली : फरक मत राख्न मञ्चमा पुगेका थापालाई भने- ‘मलाई कन्भिन्स गर्न सक्नुभएन, जानुस्’

काठमाडौं : एमालेको विधान महाधिवेशनमा लोकतान्त्रिक अभ्यास र वैचारिक बहसको अपेक्षाविपरीत अध्यक्ष केपी शर्मा ओलीले फरक मत राख्न खोज्ने आफ्नै पार्टीका स्थायी कमिटी सदस्यलाई मञ्चबाटै अपमानजनक ढंगले फर्काइदिएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको पक्षमा ३२ पृष्ठ लामो दस्ताबेजसहित फरक मत राख्न खोज्दा नेता कर्ण थापामाथि ओलीले ठाडो हस्तक्षेप गरेका हुन्।

गोदावरीमा जारी महाधिवेशनको दोस्रो दिन, शनिबार, कार्यसूचीमै समावेश भएर फरक मत प्रस्तुत गर्न मञ्चअघि उभिएका थापालाई अध्यक्ष ओलीले बोल्नबाट रोकेका थिए।

उनले हललाई सुनाउँदै भने, ‘अस्ति १२ देखि ३ बजेसम्म तपाईं र मेरो कुरा भएकै हो। किताब बाँड्न दिएकै छ। तपाईंले मलाई कन्भिन्स गर्न सक्नुभएन, जानुस्।’

अध्यक्षको यस्तो आदेशपछि थापा आधा घण्टासम्म मञ्चअगाडि उभिरहे, तर उनले आफ्नो मत राख्ने अवसर पाएनन्।

अध्यक्ष ओलीबाट सार्वजनिक रूपमै अपमानित भएका नेता थापाले यो घटनालाई अत्यन्त गलत र अलोकतान्त्रिक अभ्यासको संज्ञा दिएका छन्।

‘मेरो फरक मत केन्द्रीय सचिवालयले पास गरेको हो, महाधिवेशनको सेड्युलमा पनि राखिएको थियो, तर पनि पेस गर्ने अवसर दिइएन,’ थापाले भने, ‘यसले पार्टीमा राम्रो सन्देश जाँदैन।’

उनले आफ्नो ३२ पृष्ठ लामो दस्ताबेजमा पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोक्न नहुने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुपर्ने जस्ता महत्त्वपूर्ण विषय उठाएका थिए। तर, अध्यक्ष ओलीले यी विषयमा छलफल हुनै नदिई बलजफ्ती रोकेका हुन्।

विद्या भण्डारीको सदस्यताको विषयमा थापा मात्र एक्ला छैनन्। यसअघि सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा मत राखेका थिए, जसमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले समेत साथ दिएका थिए।

तर, अध्यक्ष ओलीले महाधिवेशन सुरु हुनुअघि नै ‘विद्याको सदस्यताको विषयमा छलफल नहुने’ भन्दै एकलौटी निर्णय सुनाइसकेका थिए।

भदौ २१, २०८२ शनिबार १३:४८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।