विराटनगरमा देउवाको ‘मुड स्विङ’: नीतिगत जवाफमा संयम, पार्टीको उत्तराधिकारी सोध्दा जङ्गिए

विराटनगरमा देउवाको ‘मुड स्विङ’: नीतिगत जवाफमा संयम, पार्टीको उत्तराधिकारी सोध्दा जङ्गिए
फाइल तस्बिर

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार विराटनगरमा पत्रकारमाझ फरक-फरक मुडमा प्रस्तुत भए।

संविधान संशोधनजस्ता मुद्दामा उनले संयमित जवाफ दिए भने सरकारको स्थायित्व र आफूमाथि प्रश्न उठ्दा उनी आक्रोशित देखिए।

देउवाले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ बहुमतको नभएको भन्दै दलहरूबीच सहमति बनिनसकेको बताए।

‘संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ, त्यसका लागि सहमति भएको छैन’, उनको भनाइ थियो। यद्यपि, प्रक्रिया अघि बढाउन बन्ने भनिएको कार्यदल भने चाँडै बन्ने आश्वासन दिए।

त्यस्तै, पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमन र सामाजिक सञ्जाल नियमन जस्ता विषयमा पनि उनले आफूलाई ‘धेरै जानकारी नभएको’ भन्दै पन्छिए। यद्यपि भण्डारीलाई राजनीतिमा आउन संविधानले नरोक्ने मत राखे।

पत्रकार सम्मेलनमा सरकारका मन्त्रीहरू फेरबदलको चर्चाबारे प्रश्न सुनेपछि भने देउवा एकाएक आक्रामक सुनिए।

‘तपाईंलाई मन्त्री परिवर्तन गर्ने भनेर कसले भन्यो? कसले भन्यो?’ उनले झर्किंदै प्रतिप्रश्न गरे, ‘मलाई थाहा छैन। मिडियामा आएको कुरा तपाईंहरूलाई थाहा होला। मन्त्री फिर्ता बोलाउने कुरा भएको छैन।’

त्यसपछि अर्का पत्रकारले कांग्रेसको भावी नेतृत्व अर्थात् ‘उत्तराधिकारी’ बारेमा सोधेपछि उनी अत्यन्तै आक्रोशित भए।

पार्टीको भविष्यसँग जोडिएको यो प्रश्नलाई उनले व्यक्तिगत रूपमा लिए र ठाडै व्यङ्ग्यात्मक जवाफ फर्काउँदै भने- ‘तपाईं हुनुहुन्छ।’

भदौ २१, २०८२ शनिबार १३:३०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।