ओलीको राजनीतिक दस्ताबेज : कांग्रेस ‘टेस्टेड’, माओवादी प्रतिस्पर्धामै छैन; रास्वपाबारे कस्तो धारणा?

ओलीको राजनीतिक दस्ताबेज : कांग्रेस ‘टेस्टेड’, माओवादी प्रतिस्पर्धामै छैन; रास्वपाबारे कस्तो धारणा?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य कुनै पनि राजनीतिक शक्तिले समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न नसक्ने दाबी गरेका छन्।

गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजमा उनले सत्ता साझेदार नेपाली कांग्रेसदेखि माओवादी केन्द्र र नयाँ उदाएका दलहरूसम्मको आलोचना गर्दै एमालेलाई एकमात्र विकल्पको रूपमा प्रस्तुत गरेका छन्।

ओलीले आफ्नो दस्ताबेजमा नेपाली कांग्रेसलाई मुलुकको पुरानो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी भए तापनि लोकतन्त्रको रक्षा र समृद्ध समाज निर्माणमा ‘टेस्टेड’ भइसकेको शक्ति भनेर टिप्पणी गरेका छन्।

‘उसले सात सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्न सकेन। पन्ध्र, अठ्चालीस र छपन्न सालमा बहुमत पाएर पनि आफ्नै अन्तरकलहले सरकार गुमायो र २०५९ सालमा प्रजातन्त्र नै राजाको हातमा पुर्यायो’, दस्ताबेजमा भनिएको छ।

ओलीले कांग्रेसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीति संसारभर असफल भइसकेकाले त्यसले देशको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन्।

माओवादी प्रतिस्पर्धाबाटै बाहिरियो
अध्यक्ष ओलीले माओवादी केन्द्र मुलुकको वैचारिक-राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिइसकेको निष्कर्ष निकालेका छन्।

‘प्रचण्डपथ’, सशस्त्र युद्ध र एकदलीय अधिनायकत्वको सोच असफल भइसकेको उल्लेख गर्दै दस्ताबेजमा भनिएको छ, ‘अस्थिरता, अवसरवाद, विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, साङ्गठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ।’

‘हङ पार्लियामेन्ट’का कारण सत्ताको लाभ लिनुबाहेक माओवादीसँग देशको नेतृत्व गर्ने क्षमता नभएको ओलीको ठहर छ।

‘पपुलिस्ट’ हरू तरङ्ग जस्तै सेलाए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम नलिईकनै ओलीले ‘पपुलिस्ट’ शक्तिहरूमाथि कडा टिप्पणी गरेका छन्।

एमालेलाई परमादेशबाट विस्थापित गरेपछि सिर्जना भएको राजनीतिक विकृति र जनताको मनोविज्ञानलाई ‘पपुलिस्टहरू’ ले दुरुपयोग गरेको उनको आरोप छ।

‘उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन,’ ओलीले भनेका छन्, ‘तलाउमा देखा पर्ने एउटा तरङ्ग जस्तै यस्तो पपुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो।’

दुई वर्ष नबित्दै समाजले ‘पपुलिज्म’ कुनै समाधान होइन भन्ने निष्कर्ष निकालिसकेको उनको दाबी छ।

राजावादी र मधेस केन्द्रित दल पनि असान्दर्भिक
ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूलाई राजतन्त्र फर्काउने सपना देख्ने र धर्मलाई राजनीतिक हतियार बनाउन खोज्ने शक्तिका रूपमा चित्रण गरेका छन्।

त्यस्तै, मधेस केन्द्रित दलहरूलाई सङ्कीर्ण, यथास्थितिवादी र राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकेको भन्दै उनीहरूले राष्ट्रको नेतृत्व गर्न नसक्ने बताएका छन्।

अन्तमा, ओलीले आफ्नो दस्ताबेजमार्फत विचारका हिसाबले ‘जनताको बहुदलीय जनवाद’ र शक्तिका हिसाबले एमाले मात्र देशको नेतृत्व गर्ने सारथी भएकोमा कुनै द्विविधा नरहेको जिकिर गरेका छन्।

भदौ २१, २०८२ शनिबार १३:१५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।