बुवाले देख्न नपाएको डाक्टर छोरो : क्यान्सरले खोसेको सपना पूरा गर्न विशेषज्ञ बने डा. अमित

बुवाले देख्न नपाएको डाक्टर छोरो : क्यान्सरले खोसेको सपना पूरा गर्न विशेषज्ञ बने डा. अमित

काठमाडौं : डा. अमित झाको हातमा शल्यक्रियाको चक्कु चल्दा कैयौं बिरामीले नयाँ जीवन पाउँछन्। उनी एक कुशल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्, जसको ज्ञान र सीपले अनगिन्ती घाँटी र कानका जटिल समस्या निको भएका छन्।

तर, हरेक सफल उपचारपछि पनि उनको मनको कुनै कुनामा एउटा पुरानो घाउ बल्झिरहन्छ- आफू डाक्टर बन्नुअघि नै क्यान्सरसँग हारेका आफ्नै बुवाको सम्झना। यो उनै डाक्टरको कथा हो, जसले आफ्नो व्यक्तिगत पीडालाई नै हजारौंको सेवा गर्ने संकल्पमा बदलेका छन्।

अधुरो रह्यो बुवाको त्यो सपना
२०५० सालमा सप्तरीको राजविराजमा जन्मिएका अमितको बाल्यकाल स्वास्थ्य सेवाको परिवेशमा बित्यो। बुवा र आमा दुवै स्वास्थ्यकर्मी भएकाले घरमा स्वास्थ्य र उपचारका कुरा सामान्य थिए। यही वातावरणले उनलाई सानैदेखि चिकित्सा पेशाप्रति आकर्षित गर्यो। तर, उनीभन्दा बढी सपना उनका बुवाले देखेका थिए- छोरालाई सेतो एप्रोनमा डाक्टर बनेको हेर्ने।

यही सपना साकार पार्न बुवाले उनलाई २०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको गोल्डेनगेट कलेजमा विज्ञान विषय पढाउन पठाए। बुवाको सपनालाई आफ्नै लक्ष्य बनाएका अमितले प्लस टु पछि एमबीबीएस प्रवेश परीक्षाको तयारी थाले र छनोटमा नाम निकाले।

सन् २०११ मा उनी ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना हुँदा परिवारमा खुसीको सीमा थिएन। बुवाको सपना अब विपनामा परिणत हुने बाटोमा थियो।

तर, भाग्यलाई सायद यो खुसी मञ्जुर थिएन। अमित एमबीबीएस पढ्दै गर्दा उनका बुवाको घाँटीमा सानो गिर्खा (ट्युमर) देखियो। स्थानीय अस्पतालमा जाँच गराउँदा सामान्य मात्र हो भनियो। सीमित स्रोतसाधन र प्रारम्भिक जाँचको भरमा परिवार ढुक्क भयो। चिकित्साशास्त्र पढ्दै गरेका अमितले पनि सामान्य ट्युमर नै होला भन्ने सोचे।

जब त्यो ट्युमर बढ्दै गयो र दुखाइ असह्य हुन थाल्यो, अमितले बुवालाई काठमाडौं ल्याए। विस्तृत जाँचपछि आएको रिपोर्टले उनीहरूको संसार नै हल्लाइदियो- बुवालाई घाँटीको थुक ग्रन्थीमा क्यान्सर भएको थियो र त्यो अन्तिम चरणमा फैलिसकेको थियो।

त्यो क्षण सम्झँदै डा. अमित भन्छन्, ‘एकैछिनमा म छाँगाबाट खसेझैँ भएँ। जुन रोगबारे किताबमा पढिरहेको थिएँ, त्यो मेरो आफ्नै बुवाको शरीरमा फैलिरहेको थियो।’

परिवारले हिम्मत हारेन। शल्यक्रिया गरेर ट्युमर फालियो, महँगा औषधि र उपचार सुरू गरियो। तर,  क्यान्सरले आफ्नो प्रभाव देखाउन छाडेन। बुवाको शरीर दिनप्रतिदिन गल्दै गयो। छोरा डाक्टर बनेको हेर्ने उनको उत्कट चाहना अन्ततः अधुरै रह्यो।

अमित एमबीबीएसको इन्टर्नसिप गरिरहेका बेला, ५३ वर्षको उमेरमा उनका बुवाले यो संसारबाट बिदा लिए। सन् २०१७ मा उनले एमबीबीएसको उपाधि त पाए, तर त्यो उपाधि देखाउने र आशीर्वाद लिने बुवा उनीसँग थिएनन्।

पीडाबाट जन्मिएको संकल्प : नाक, कान, घाँटी विशेषज्ञता
बुवाको मृत्युको पीडाले अमितलाई लामो समयसम्म सताइरह्यो। उनी बारम्बार सोच्थे, ‘म डाक्टर त भएँ, तर आफ्नै बुवालाई बचाउन सकिनँ।’ यो पीडादायी संयोगले उनलाई भित्रभित्रै पोलिरहन्थ्यो। तर, यही पीडाले उनलाई एउटा नयाँ बाटो देखायो। उनले आफ्नो विशेषज्ञताको क्षेत्र त्यही बनाउने निर्णय गरे, जुन रोगले उनका बुवालाई खोसेको थियो।

‘बुवालाई त बचाउन सकिनँ, तर उहाँजस्तै समस्या भएका अरू हजारौंलाई बचाउन सकेँ भने बुवाको आत्माले शान्ति पाउला,’ यही सोचेर उनले नाक, कान र घाँटी विषयमा स्नातकोत्तर (एमएस) गर्ने अठोट गरे।

सन् २०२१ मा उनी वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा एमएस अध्ययनका लागि भर्ना भए। अब उनको पढाइ केवल डिग्रीका लागि थिएन, यो उनको बुवाप्रतिको श्रद्धाञ्जली र एक भावनात्मक मिसन थियो।

महामारीको त्यो कहालीलाग्दो क्षण
उनी एमएस पढ्दै गर्दा देशमा कोरोना महामारीले विकराल रूप लियो। अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका रूपमा उनी दिनरात बिरामीको सेवामा खटिए।

कैयौं दिन उनी केही घण्टा मात्र सुतेर अस्पतालमै बिताउँथे। यहीबीच, काठमाडौंमा रहेकी उनकी श्रीमती र काखकी तीन महिनाकी छोरीलाई कोरोना संक्रमण भयो। तर, अस्पतालमा बिरामीको चाप र आफ्नो जिम्मेवारीका कारण उनी घर जान पाएनन्।

‘म भिडियो कलमा श्रीमती र छोरीको ज्वरोले शिथिल अनुहार हेर्थेँ, नरमाइलो लाग्थ्यो। तर म यहाँ बिरामी छाडेर जान सक्ने अवस्थामा थिइनँ’, त्यो कहालीलाग्दो क्षण सम्झँदै उनी भन्छन्।

धन्य, केही दिनपछि दुवै निको भए, तर त्यो समयको मानसिक तनाव र विवशता उनले कहिल्यै भुल्न सक्दैनन्।

जब बालकको घाँटीबाट रगतको फोहोरा छुट्यो...
आफ्नो करिअरको एउटा अविस्मरणीय घटना सुनाउँदै डा. अमित भन्छन्, ‘म एमएस पढ्दै थिएँ। एकदिन करिब ६ वर्षको बालकलाई उनकी आमाले लिएर आइन्। लडेर घाँटीमा चोट लागेको थियो र सामान्य रगत बगिरहेको थियो।’

आकस्मिक कक्षमा घाउ सिलाउन लाग्दा उनका सिनियर चिकित्सकहरू पनि साथमै थिए। तर, घाउ हेर्दा सामान्य देखिए पनि भित्री रक्तनली काटिएको रहेछ। घाउ सिलाउन सुरू गर्नासाथ एक्कासी रगतको फोहोरा छुट्यो। आँखा झिमिक्क गर्दासम्म डा. अमितको सेतो एप्रोन रक्ताम्मे भइसकेको थियो। बालकको ज्यान जोखिममा थियो।

उनले तत्काल हातले रक्तस्राव रोक्ने प्रयास गरे र बालकलाई काँधमा बोकेर अप्रेसन थिएटरतिर दौडिए। सिनियर डाक्टरहरूको टोली तुरुन्तै जम्मा भयो। बालकलाई रगत चढाइयो र घण्टौको शल्यक्रियापछि रक्तस्राव रोकियो। शल्यक्रिया सफल भयो र बालकको ज्यान बच्यो।

‘त्यो दिन हामीले मृत्युलाई जितेको अनुभूति भएको थियो’, उनी भन्छन्।

स्वदेशमै सेवाको अठोट
एमएस पूरा गरेपछि धेरैजसो चिकित्सकहरू विदेशिने लहर चले पनि डा. अमितले नेपालमै बस्ने निर्णय गरे।

उनी दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चररका रूपमा सेवा सुरू गरे र हाल मकवानपुरको हेटौँडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकका रूपमा कार्यरत छन्।

उनी भन्छन्, ‘बुवाको सपना पूरा गर्न डाक्टर बनेँ, अब यही देशका नागरिकको सेवा गरेर त्यो सपनालाई सार्थक बनाउनु छ।’

उनी नाकको बाङ्गिएको हड्डी, पलाएको मासु, कानको जाली फेर्नेदेखि लिएर घाँटीको क्यान्सरसम्मका जटिल शल्यक्रिया र उपचारमा दिनरात खटिन्छन्।

यसका साथै, उनले सामाजिक सञ्जालमा चिकित्सकहरूका लागि एउटा समूह बनाएका छन्, जहाँ देशभरका अस्पतालमा खुलेका जागिरका अवसरबारे सूचना आदानप्रदान हुन्छ। यो समूहबाट अहिलेसम्म २०० भन्दा बढी चिकित्सकले रोजगारी पाएका छन्।

आज डा. अमित झा एक सफल चिकित्सक मात्र होइनन्, उनी एक प्रेरणा पनि हुन्। उनले आफ्नो जीवनको सबैभन्दा ठूलो पीडालाई नै आफ्नो सबैभन्दा ठूलो शक्तिमा बदलेका छन्।

भदौ २१, २०८२ शनिबार १२:३२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।