क्रिस लिनले एनपीएलको पूरै सिजन खेल्ने

काठमाडौं : अष्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा सुदूरपश्चिम रोयल्सबाट पूरै सिजन खेल्ने भएका छन्।
अष्ट्रेलियाको बिगबास लिगसँग तालिका नजुध्ने भएपछि लिनले पूरै सिजन खेल्ने पक्का भएको टोलीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले जानकारी दिएका छन्।
लामो समयको प्रयासपछि लिनलाई टोलीमा आबद्ध गर्न सफल भएको खड्काले बताए।
‘हामीले एजेन्टमार्फत क्रिस लिनसँग सम्पर्क गरेका थियौँ। उहाँलाई एनपीएलको बारेमा पहिले नै थाहा थियो र नेपाल आएर खेल्न एकदमै उत्साहित हुनुहुन्छ,’ खड्काले भने, ‘सुरूमा बिगबाससँग समय जुध्छ कि भन्ने थियो, तर तालिका नजुध्ने भएपछि हामीले पूरै सिजनका लागि समझदारी गर्यौं।’
सुदूरपश्चिमलाई एक अनुभवी शीर्ष क्रमका ब्याट्सम्यानको आवश्यकता रहेको र लिन त्यसका लागि उपयुक्त विकल्प भएको टोलीको भनाइ छ।
टोलीका मालिक अष्ट्रेलियामा नै बस्ने भएकाले पनि सम्झौता प्रक्रियामा सहजता मिलेको थियो। खड्काले लिन जस्ता ठूला खेलाडीको आगमनले ड्रेसिङ रुमको माहोल र युवा खेलाडीको सिकाइमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे।
‘हामीले ठूलो नाम भन्दा पनि खेलमा योगदान दिनसक्ने खेलाडी खोजेका हौं। लिनको उपस्थितिले जुनियर खेलाडीहरूले धेरै कुरा सिक्न पाउँछन्’, उनले थपे।
सुदूरपश्चिम रोयल्सले अर्को साताभित्रै अर्का एक विदेशी खेलाडीको नाम पनि सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।
भदौ २१, २०८२ शनिबार ११:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।