बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी बत्तिएको थियो मन्त्री सवार गाडी, बाइकमा सवार अर्की महिलाले सडकबाट उठाइन्

ललितपुर : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले ललितपुरको हरिसिद्धीमा एक बालिकालाई ठक्कर दिएर नरोकी बत्तिएको खुलेको छ।
शनिबार बिहान ललितपुर महानगरपालिका-२८, हरिसिद्धी माध्यमिक विद्यालय अगाडि जेब्राक्रसिङमै मन्त्री मगर सवार को १ झ ६९९ नम्बरको गाडीले ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको थियो।
सार्वजनिक भएको सीसीटिभी फुटेजमा जेब्राक्रसिङबाट बाटो काट्न लागेकी बालिकालाई गाडीले ठक्कर दिएको र उनी सडकमा पछारिएको स्पष्ट देखिन्छ। तर, ठक्कर दिएलगत्तै मन्त्री सवार गाडी त्यहाँ नरोकिई सिधै अगाडि बढेको थियो।
ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले घाइते बालिका उषाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको जानकारी दिए। घटनापछि मन्त्री मगर पनि बालिकाको अवस्था बुझ्न अस्पताल पुगेका छन्।
प्रहरीले ठक्कर दिने गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिएको छ।
मन्त्री मगर एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा सहभागी हुन जाँदै गर्दा उक्त दुर्घटना भएको हो।
दुर्घटनापछि आक्रोशित स्थानीयले गोदावरी जाने सडक अवरुद्ध पारेका थिए, जसका कारण एमालेको विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम करिब एक घण्टा ढिला सुरू भएको थियो।
यसैबीच, महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनालाई ‘भवितव्य’को संज्ञा दिँदै यस विषयमा महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएको आरोप लगाए।
उनले भने, ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। यो भवितव्य घटना हो।’
अध्यक्ष ओलीले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
तर, उनले घटनालाई लिएर राजनीति नगर्न चेतावनी दिँदै भने, ‘त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी छौँ। तर यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो।’
भदौ २१, २०८२ शनिबार ११:०८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।