हरिसिद्धीमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो, महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएको ओलीको आरोप

ललितपुर : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले ललितपुरको हरिसिद्धीमा एक बालिकालाई ठक्कर दिएको छ।
एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरीतर्फ जाँदै गरेको मन्त्री सवार गाडीले शनिबार बिहान हरिसिद्धी मावि अगाडिको जेब्राक्रसिङमै बालिकालाई ठक्कर दिएको हो।
सार्वजनिक भएको सीसीटिभी फुटेजमा ठक्कर दिएपछि मन्त्रीको गाडी नरोकिई अघि बढेको देखिन्छ। घटनालगत्तै ललितपुर प्रहरी परिसरले गाडीलाई नियन्त्रणमा लिएको परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम कृष्ण अधिकारीले बताएका छन्।
दुर्घटनापछि आक्रोशित स्थानीयले गोदावरी जाने सडकखण्ड अवरुद्ध पारेका छन्। सडक अवरोधका कारण एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्र करिब एक घण्टा ढिला सुरू भएको थियो। प्रहरीले अवरोध हटाउन स्थानीयसँग छलफल गरिरहेको छ।
यसैबीच, महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
तर, अध्यक्ष ओलीले यो दुर्घटनालाई ‘भवितव्य’ भन्दै यसै विषयलाई लिएर महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएको आरोप लगाए।
उनले भने, ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्दछु।’
उनले थपे, ‘भवितव्य घटना भएको हो, त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौँ। तर यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो।’
गोदावरीस्थित सनराइज सभाहलमा एमालेको विधान महाधिवेशन जारी छ। शनिबारको बन्दशत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनहरू पेश भइरहेका छन्।
शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेश भइसकेको छ।
भदौ २१, २०८२ शनिबार १०:३१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।