एआई विकास र अवसरमा केन्द्रीत दोस्रो राष्ट्रिय सम्मेलन ललितपुरमा

एआई विकास र अवसरमा केन्द्रीत दोस्रो राष्ट्रिय सम्मेलन ललितपुरमा

काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास, अवसर र चुनौतीबारे बृहत् छलफल गर्ने उद्देश्यका साथ दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन शनिबार ललितपुरको होटल हिमालयमा सुरू हुँदैछ।

‘एआई एण्ड डिभलपमेन्टः ब्रिजिङ द ग्याप, बिल्डिङ द अपरचुनिटिज’ (एआई र विकास : खाडल पुर्दै, अवसर निर्माण गर्दै) नारा दिइएको यस सम्मेलनको उद्घाटन संघीय संसदका सभामुख देवराज घिमिरेले गर्दैछन्।

सम्मेलनमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल रूपान्तरण विज्ञ तथा थिङ्क ट्याङ्क श्रीगणेश लोकनाथनले विशेष वक्ताका रूपमा किनोट मन्तव्य दिने कार्यक्रम छ। सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा छलफल सत्रहरू आयोजना गरिएका छन्।

जसमा ‘विश्वव्यापी एआई प्रतिस्पर्धामा विकासोन्मुख राष्ट्रको दृष्टिकोण’, ‘नेपालको बैंकिङ तथा वित्तीय रूपान्तरणका लागि एआई’, ‘सीमित स्रोतसाधनमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि एआई’ र ‘मिडियादेखि राजनीतिसम्म: जेनरेटिभ एआईको युगमा मिथ्या सूचनाको परिदृश्य’ जस्ता विषय समावेश छन्।

यी सत्रहरूमा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक नीर क्षेत्री, ब्रिटिस काउन्सिलकी शिक्षा प्रविधि प्रमुख निनाज इचापोरिया, युनेस्को नेपाल प्रमुख याको दु तोइट लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आफ्नो धारणा राख्नेछन्।

डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा भएको यस सम्मेलनमा इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालले सहकार्य गरेका छन्।

सम्मेलनलाई एनसेल बिजनेस, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र डिस होमले प्रायोजन गरेका छन्।

भदौ २१, २०८२ शनिबार ०९:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।