एलन मस्कको एक ट्रिलियन डलरको पारिश्रमिक प्याकेज, तर शर्तहरू लागू

एलन मस्कको एक ट्रिलियन डलरको पारिश्रमिक प्याकेज, तर शर्तहरू लागू

एजेन्सी : टेस्लाका प्रमुख एलन मस्कले १ ट्रिलियन डलरभन्दा बढी मूल्यको पारिश्रमिक प्याकेज पाउन सक्ने भएका छन्। तर, यसका लागि केही शर्तहरू तोकिएका छन्।

इलेक्ट्रिक कार कम्पनी टेस्लाको सञ्चालक समिति (बोर्ड)ले प्रस्ताव गरेअनुसार, मस्कले यो प्याकेज त्यतिबेला मात्र पाउनेछन् जब उनले आगामी दश वर्षभित्र कम्पनीका लागि निर्धारित केही अत्यन्तै महत्वाकांक्षी लक्ष्यहरू पूरा गर्नेछन्।

यो प्याकेज प्राप्त गर्नका लागि मस्कले टेस्लाको बजार मूल्य आठ गुणा बढाउनु पर्नेछ, १० लाख आर्टिफिसियल इन्टेलिजेन्स रोबोट बेच्नु पर्नेछ, १.२ करोड टेस्ला कार बिक्री गर्नुपर्नेछ र अन्य थुप्रै कठिन लक्ष्यहरू हासिल गर्नुपर्नेछ।

यो अवधिभर मस्कले कुनै तलब वा बोनस पाउने छैनन्। यसको सट्टा, उनलाई शेयर प्रदान गरिनेछ, जसको मूल्य सबै लक्ष्यहरू पूरा भएमा १ ट्रिलियन डलरसम्म पुग्नेछ।

कम्पनीको बोर्डले लगानीकर्ताहरूलाई यस प्रस्तावको पक्षमा मतदान गर्न अपील गरेको छ।

टेस्लाकी अध्यक्ष रोबिन डेनहोमले भनेकी छन्, ‘आज असम्भव देखिने वृद्धि पनि नयाँ विचार, उत्कृष्ट प्रविधि र महान् नवप्रवर्तन क्षमताबाट हासिल गर्न सकिन्छ।’

भदौ २१, २०८२ शनिबार ०९:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।