भारतमाथि लगाएको ट्यारिफ हटाउन अमेरिकाका तीन शर्त

काठमाडौं : अमेरिकी उद्योग मन्त्री होवार्ड लुट्निकले भारतमाथि लगाइएको २५ प्रतिशत अतिरिक्त शुल्क (ट्यारिफ) हटाउनका लागि तीनवटा कडा शर्त अघि सारेका छन्।
शुक्रबार ब्लूमबर्ग टीभीसँगको अन्तर्वार्तामा उनले भारतले रुसबाट तेल किन्न बन्द गर्नुपर्ने, ब्रिक्स समूहबाट अलग हुनुपर्ने र अमेरिकाको समर्थन गर्नुपर्ने बताएका हुन्।
उनले भारतलाई चेतावनी दिँदै भने, ‘यदि भारत रुस र चीनबीच पुल बन्न चाहनुहुन्छ भने बन्नुहोस्, तर कि त डलरको समर्थन गर्नुहोस् कि अमेरिकाको। आफ्नो सबैभन्दा ठूलो ग्राहकको समर्थन गर्नुहोस् वा ५० प्रतिशत ट्यारिफ तिर्नुहोस्।’
यद्यपि, उनले भारत छिट्टै अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौताको वार्तामा सामेल हुने आशा पनि व्यक्त गरे। उनले भने, ‘अमेरिका वार्ताका लागि सधैं तयार छ।’
लुट्निकले भारत र अमेरिकाबीच व्यापारिक तनाव रहेको तर छिट्टै भारतले माफी मागेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताको टेबलमा आउने दाबी गरे।
‘एक-दुई महिनाभित्रै भारत ट्रम्पसँग वार्ताको टेबलमा आउनेछ र माफी माग्नेछ,’ लुट्निकले भने, ‘भारतले ट्रम्पसँग नयाँ सम्झौता गर्ने प्रयास गर्नेछ। यो सम्झौता ट्रम्पकै शर्तहरूमा हुनेछ र उनीहरूले प्रधानमन्त्री मोदीसँग मिलेर यसलाई अन्तिम रूप दिनेछन्।’
अर्कोतर्फ, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतले अमेरिकासँग व्यापारका मुद्दाहरूमा वार्ता जारी राख्ने बताएका छन्।
उनले भने, ‘हामी क्वाडलाई चार देशबीच विभिन्न मुद्दाहरूमा छलफलका लागि एक राम्रो मञ्च मान्छौँ। नेताहरूको बैठक सदस्य देशहरूबीचको कूटनीतिक वार्तापछि तय हुनेछ।’
युक्रेन युद्धबारे उनले भने, ‘हामी शान्तिका लागि भइरहेका प्रयासहरूको स्वागत गर्छौं। हामी आशा गर्छौं कि सबै पक्ष मिलेर सही कदम चाल्नेछन्। भारत यो द्वन्द्व छिट्टै अन्त्य होस् र शान्ति स्थापना होस् भन्ने चाहन्छ।’
अमेरिकी उद्योग मन्त्रीको यो बयान यस्तो समयमा आएको हो जब पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र भारत अब चीनको पक्षमा गएको आशंका व्यक्त गरेका छन्।
उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई चीनको हातमा गुमाएका छौं। आशा छ, उनीहरूको भविष्य राम्रो हुनेछ।’
यता, भारतीय विदेश मन्त्रालयका प्रवक्ता जायसवालले ट्रम्पको यो पोस्टबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्। ट्रम्प प्रशासनले भारतमाथि दुई चरणमा गरी कुल ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ।
ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत ट्यारिफको घोषणा गरेका थिए, जुन ७ अगस्टदेखि लागू भएको थियो। त्यसको एक दिनअघि, अर्थात् ६ अगस्टमा, उनले रुसी तेल खरिद गरेको कारण देखाउँदै भारतमाथि थप २५ प्रतितशत अतिरिक्त ट्यारिफ लगाएका थिए, जुन २७ अगस्टदेखि लागू भयो।
ट्रम्पले भारतले रुसबाट सस्तो तेल किनेर खुला बजारमा बेच्दा पुटिनलाई युक्रेनविरुद्धको युद्ध जारी राख्न मद्दत पुगेको आरोप लगाउँदै आएका छन्। भारतलगायत अन्य देशहरूमाथि लगाइएको उच्च ट्यारिफको मुद्दा हाल अमेरिकी अदालतमा विचाराधीन छ।
भदौ २१, २०८२ शनिबार ०७:५५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।