नेताका सन्तानको महँगो जीवनशैली एक्पोज गर्ने ‘नेपो बेबी’ अभियान नेपाल भित्रियो, टिकटकमा भाइरल

काठमाडौं : इन्डोनेसियाका नेता र तीनका सन्तानको सम्पन्न जीवनशैलीलाई सामाजिक सञ्जालमा फैलाएर सुरू भएको भ्रष्टाचार विरोधी नेपो बेबी अभियान नेपाल प्रवेश गरेको छ।
नेपो बेबी शब्दले प्रायः त्यस्ता व्यक्तिहरूलाई जनाउँछ जसले आफ्नो अभिभावकको प्रभाव र सम्पर्कमार्फत आफ्नो करियरमा सफलता प्राप्त गर्छन्, र यसलाई प्रायः नकारात्मक अर्थमा प्रयोग गरिन्छ।
इन्डोनेसियाका राष्ट्रपति जोको ‘जोकोवी’ विडोडोका जेठा छोरा गिब्रान राकाबुमिङ राका उपराष्ट्रपति उम्मेदवारका रूपमा चयन भएपछि त्यहाँ नेपो बेबी शब्द निकै चर्चित भयो।
उनीसँग राजनीतिक अनुभवको अभाव भए पनि बाबुको शक्तिको आडमा उपराष्ट्रपति बन्न खोजेको भन्दै उनलाई ‘नेपो बेबी’ भनेर आलोचना गरिएको छ।
इन्डोनेसियामा ‘नेपो बेबी’ अभियान फैलिएर जनताको करबाट पालिने नेता, सरकारी कर्मचारी लगायतका सन्तानको महँगो जीवनशैली र कर तिर्ने नागरिकको जीवनशैली दाँजेर भिडियो बनाउने अभियानै सुरू भएको छ।
अहिले नेपालमा पनि त्यही ‘नेपो बेबी’ अभियानकै शैलीको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
सामाजिक सञ्जालमध्ये नेपालमा दर्ता भएर प्रतिबन्धबाट जोगिएको टिकटकमा करप्ट पोल्टिसियन चाइन्ड भनेर सर्च गर्ने हो भने हजारौँ भिडियो फेला पर्छ।
उनीहरूले नेपाली कांग्रेसका शेरबहादुर र आरजु देउवाका छोरा जयवीर, एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थमन्त्री विरोध खतिवडा र उनको छोरी शृङ्खला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनको छोरी गंगा अनि नातिनी स्मिता लगायतको जीवनशैली र कर तिर्न दिनरात मिहेनत गर्ने नेपालीको अवस्था बताउने तस्बिर राखेर भिडियो बनाएका छन्।
एमाले सांसद एकनाथ ढकाल, राप्रपा नेता दीपक बोहोरा, पूर्व प्रधानन्यायाधीश, पूर्व प्रहरी प्रमुख लगायतकाहरूको सन्तानको महँगो जीवनशैलीलाई एक्सपोज गरिरहेका छन् भिडियोमा।
‘म दिनरात काम गर्नुपर्छ, किनकि मैले नेताका सन्तानको मस्तीका लागि कर तिर्नुपर्छ’ जस्ता सन्देश राखिएका भिडियो बिस्तारै चर्चित बन्दै गएका छन्।
अधिकांश भिडियोमा ‘गाई त बाँध्ने ढुङ्ग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको गीत प्रयोग भएका छन्। कतै मनी मनी मनी भन्ने र्यापको प्रयोग भएको छ।
भदौ २१, २०८२ शनिबार ०१:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।