न्यायालयको मुख्य काम कानुनी शासनको रक्षा गर्नु हो: प्रधानन्यायाधीश राउत

काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको मुख्य काम मानवअधिकारको संरक्षण, सामाजिक समानता प्रवर्द्धन र कानुनी शासनको रक्षा गर्नु भएको बताएका छन्।
सर्वोच्च अदालतले आज काठमाडौँमा आयोजित ‘नेपाल–भारत न्यायिक संवाद–२०२५’ मा प्रधानन्यायाधीश राउतले सामाजिक समानता, जलवायु परिवर्तन लगायतका विषयहरू नेपाल र भारत दुवैका साझा कानुनी चुनौती भएको बताए।
उनले भने, “नेपाल र भारतले साझा कानुनी परम्परा साझा गर्दै आएका छन्। वर्षौँदेखि नेपाली कानुनी र न्यायिक समुदायसँग निरन्तर सहकार्य गर्दै आएका छौँ। कानुन र न्यायका विभिन्न आयाममा दुई देशबीच सफल सहयोग भइरहेको छ।”
प्रधानन्यायाधीश राउतले नेपालले हाल सामना गरिरहेका नयाँ कानुनी चुनौतीहरूमा साइबर अपराध, उपभोक्ता संरक्षण, वातावरणीय ह्रास, जलवायु परिवर्तन, लैङ्गिक न्याय र आदिवासी तथा सीमांतकृत समुदायका अधिकार समावेश भएको उल्लेख गरे।
उनले नेपाल–भारत बीच भौगोलिक र सांस्कृतिक सम्बन्ध मात्र नभई कानुनी र न्यायिक क्षेत्रमा पनि बलियो व्यावसायिक सहकार्य रहेको बताए। सुधारिएको मुद्दा व्यवस्थापन र सूचना प्रविधिको प्रयोगले काम गर्न सहज भएको उहाँको भनाइ थियो।
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवाई ले पनि दुई देशको सर्वोच्च अदालतबीच उत्कृष्ट अभ्यास आदानप्रदान हुँदै आएको र आगामी दिनमा यसलाई अझ अभिवृद्धि गर्ने बताए। उनले भने , “दुवै संस्थाबीच संवाद र सहयोगलाई गहिरो बनाउन समझदारी आवश्यक छ। न्यायपालिकाले लोकतान्त्रिक शासनलाई सुदृढ गर्न अभिभावक र सुधारकर्ता जस्तो भूमिका निर्वाह गर्दछ।”
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल ले नेपालको न्यायालय स्वतन्त्र र निष्पक्ष न्याय दिन प्रयासरत रहेको र समानताका लागि महत्वपूर्ण काम गर्दै आएको बताए। उनले छोरीको सम्पत्तिमा अधिकार, समलिङ्गी विवाहको मान्यता, अपाङ्गता भएका व्यक्तिको अधिकार लगायत सामाजिक न्यायका लागि अदालतले गरेका कदमहरू उल्लेख गरे।
उनले थपे, “अदालतको फैसलाले सामाजिक न्याय, मानवअधिकार संरक्षण र आम नागरिकको न्याय पहुँच सुनिश्चित गर्दै आएको छ। राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, सामाजिक सञ्जाल ट्रायलजस्ता चुनौतीको सामना गर्दै अघि बढिरहेका छौँ।”
प्रधानन्यायाधीश राउतको निमन्त्रणामा बिहीबार नेपाल आएका भारतका प्रधानन्यायाधीश गवाई आजको औपचारिक कार्यक्रममा सहभागी भएका छन्। भोलि उनी लुम्बिनी पुगेर गौतमबुद्ध जन्मस्थल र मायादेवी मन्दिरको दर्शन गर्नेछन् र त्यसपछि भारत फर्किने कार्यक्रम छ।
भदौ २०, २०८२ शुक्रबार २२:१३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।