सहकारीको ३७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका तीन जना पक्राउ

सहकारीको ३७ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका तीन जना पक्राउ

नेपालगञ्ज : नेपालगञ्जस्थित तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढीको ठगी र हिनामिनासम्बन्धी मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार पक्राउ पर्नेमा सो संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरतराम खटिक रहेका छन्। यी तीन जनामाथि उच्च अदालत नेपालगञ्जको फैसला कार्यान्वयन गर्दै पक्राउ गरी अदालतमा बुझाइएको छ। घटनामा एक हजार ५२६ जना बचतकर्ताले जाहेरी दिएका थिए।

प्रहरीका अनुसार बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले उनीहरूलाई जेल सजाय र बिगो तिर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका थिए। अदालतले अध्यक्ष चौधरी र खटिकलाई पाँच–पाँच वर्ष कैद र रु ५०–५० हजार जरिवाना तोकेको छ भने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ।

यो मुद्दा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा दर्ता भएको थियो, जसमा ४१ जनामाथि सहकारी ऐन, ठगी र सङ्गठित अपराधको आरोप लगाइएको थियो। २०८० पुस २६ मा जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको थियो। उक्त फैसलाविरुद्ध प्रतिवादीहरूले उच्च अदालतमा अपिल गर्दा, २०८२ जेठ १४ मा उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको थियो।

हाल सो मुद्दामा अझै १० जना दोषी फरार रहेको प्रहरीले जनाएको छ।

भदौ २०, २०८२ शुक्रबार २१:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।