एमाले महाधिवेशनमा आज चारवटा प्रतिवेदन प्रस्तुत, भोलि समूहगत छलफल हुने

काठमाडौं : एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ। पहिलो दिन विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनमा आज चार वटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन भने समय अभावका कारण भोलि बिहान प्रस्तुत गरिनेछ। भोलि बिहान ८ बजे बैठक शुरु भई प्रतिवेदन प्रस्तुत गर्ने र त्यसपछि १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल सुरु हुने गौतमले बताए।
आजको सत्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।
भोलि अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
समसामयिक प्रस्ताव लेखन समितिको संयोजकको जिम्मेवारी नेता योगेश भट्टराईलाई दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन्।
महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६ जना प्रतिनिधि तथा आयोजक मिलाएर कूल दुई हजार ३४१ जना सहभागी भएका छन्।
भदौ २०, २०८२ शुक्रबार २१:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।