सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा यसो भन्छन् कलाकार

काठमाडौं : कुनै समय कुन गीत हिट भयो भन्ने कुरा क्यासेट कति बिक्री भयो भन्ने आधारमा हुन्थ्यो। आधा दर्जन गीत एउटै क्यासेटमा राखेर बिक्री गर्ने क्यासेट सेन्टरहरू प्रशस्त भेटिन्थे। त्यसपछि रेडियो/ टेलिभिजनमा बढी सुनिने आधारमा गीत/संगितको मूल्यांकण हुन थाल्यो। तर विस्तारै डिजिटल मार्केटले त्यसलाई विस्थापित गर्यो। डिजिटल बजार स्पोटिफाई, युट्युबलगतायतका डिजिटल माध्यम तर्फ मोडियो।
गायक-गायिकाहरूले गीत निकालेर युट्युबमा अपलोड गर्न थाले। गीत-संगीतको मापन डिजिटल प्लेटफर्ममार्फत हुन थाल्यो। अहिले कुन गीतले युट्युबमा कति भ्युज बटुल्यो, त्यसकै आधारमा हिट वा फ्लप भन्ने गरिन्छ।
हाल सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई प्रतिबन्ध गरेको छ। यसका लागि दुईवटा कानुनी आधार अघि बढाइएको छ- सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने निर्देशिका २०८० र सर्वोच्च अदालतको पछिल्लो परमादेश।
यिनै आधारमा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले युट्युब, फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायहरूलाई पत्र लेखेर सरकारको निर्देशन पालना गर्न भनेपछि शुक्रबार अधिकाशं इन्टरनेट सेवा प्रदायकले सेवा बन्द गरिसकेका छन्।
के भन्छन् कलाकार ?
सामाजिक सञ्जाल बन्द हुने विषयमा गायक तथा सिडी विजय अधिकारीले आफूसँग २५ वटा गीतको भिडियो तयार भए पनि अब कुन प्लेटफर्ममा हाल्ने भन्ने अन्योल भएको बताए। ‘२५ ओटा जति म्युजिक भिडियो रिलिज गर्न बाँकी छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कता रिलिज गर्ने होला त अब? ओहो।’
उनलाई कसैले रेडियोमा, कसैले टेलिभिजनमा त कसैले टिकटकमा हाल्न सुझाव दिए। उनी यतिमै रोकिएनन्।
सामाजिक सञ्जाल पूर्णरूपमा बन्द नभएपछि फेरि एकछिनमा उनले लेखे, ‘के को पनि दिन आउँछ भन्थे, मेरो पालो आउला जस्तो छ। सिडीको जमाना फेरि आउने भो। अब गीत र भिडियोहरू सिडीमै हाल्नुपर्ला।’
सामाजिक सञ्जालमा लेखिरहँने स्टेजमा रुचाइएकी गायिका ज्योति मगर पनि यस विषयमा खुलेर बोलेकी छन्। तर उनको मत भने फरक छ। गायन र मोडलिङमा राम्रै नाम दाम कमाएकी उनले सरकारले कुनै पनि सामाजिक सञ्जाललाई नियमनमा ल्याउन लागेको निर्णय सकारात्मक भएको बताइन्।
‘यो व्यक्तिगत फाइदाको कुरा होइन, राज्यका लागि भएको हो, त्यसैले राम्रो मान्नुपर्छ,’ उनले भनिन्।
उनले विभिन्न देशको उदाहरण दिँदै थपिन्, ‘युएईमा टिकटकै नचल्ने, फेसबुकै नचल्ने, चीनको पनि हेरिरहेका छौँ। अमेरिकाले बनाएको एप्स पनि हेरिरहेका छौँ। उत्तर कोरियाको पनि हेरिरहेका छौँ। आफ्नो देशप्रति, आफ्नो स्वाभिमानप्रति मान्छे कति सिरियस छन् भन्ने कुरा देखिन्छ।’
नेपालमा मान्छेहरूले हचुवामा विरोध-समर्थन गर्ने गरेको भन्दै उनले अन्य देशका नागरिकले आफ्ना देशप्रतिको माया हेर्न सुझाव दिइन्।
उनले भनिन्, ‘हामी नेपालीहरू त हावाताल, हचुवाको तालमा उम्लिने बानी परेका छौँ। साउदी अरबका महिलाले मुखै नदेखाएर पनि जीवन बिताएका छन्। त्यसलाई अन्याय भन्न मिल्दैन। त्यसैले देशको कानुन मानेपछि संविधानले जनताको पक्षमा काम गर्छ भन्ने विश्वास छ मलाई।’
उनले युट्युब लगायतका सामाजिक सञ्जाललाई सरकारले नियमन गरे आफू खुशी हुने बताइन्।
‘हात हातमा जे पायो त्यही भिडियो हालेर रमाइलो गर्ने, फेरि विरोध पनि गर्ने। वाक स्वतन्त्रता र अराजकता छुट्टै कुरा हो। अहिलेको सोसल मिडिया हेर्ने हो भने गोपनीयता भङ्गदेखि लिएर व्यक्तिगत जीवनका कुरासम्म धेरै अराजकता छ। नियमन भयो भने राम्रो हुन्छ,’ उनले भनिन्।
युट्युब बन्द भएमा पुरानै शैलीतिर फर्कन तयार रहेको पनि उनले सुनाइन्। ‘देशको स्वाभिमानको कुरा हो। युट्युब चलेन भने अन्य उपायमा फर्किन्छु। हिजो मोबाइल फोन नहुँदा त जीवन चलेको थियो। अहिले युट्युब नहुँदा के फरक पर्छ त?’ उनले हाँस्दै भनिन्।
संगीतकार दीपक शर्माले भने यो हप्तामा दुई दर्जन गीत युट्युबमा अपलोड गर्ने तयारी रहे पनि अब केही दिन पर्खनुपर्ने स्थिति आएको बताए।
‘तत्काल २०-२५ वटा गीत युट्युबबाट रिलिज गर्ने तयारी थियो,’ उनले भने, ‘आजै एउटा गीत रिलिज गर्ने तयारीमा थियौँ। तर यो अन्योलका कारण केही दिन पछाडि सार्यौँ।’
शर्माले तत्काल पुरानै माध्यममा फर्किनुपर्ने अवस्था नभएको बताए। तर केही दिनमै सामाजिक सञ्जाल पुनः सञ्चालन हुने विश्वास व्यक्त गरे।
‘युट्युब बन्द सधैंका लागि भयो भने विकल्प अवश्य आउँछ। अहिले नै विकल्प खोज्नुपर्ने स्थिति छैन। केही दिन पर्खौँ,’ उनले थपे।
अर्का गायक शिव परियारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयलाई समर्थन गरे। उनले नेपालमा वैधानिक रूपमा दर्ता हुनु जरुरी रहेको बताए।
‘मेटाले नेपालको कानुन, नियम र संविधान मान्दिन भन्ने समाचार पढ्यौँ। त्यो समग्र देशलाई टाढा लगेर बेच्ने जस्तो कुरा हो। बुलिङका नराम्रा कुरा पनि छन्। त्यसैले नेपाल सरकारले बन्द गरेको ठिक हो,’ उनले भने।
गीत–संगीतमा यसले कति असर पार्छ भन्ने प्रश्नमा उनले भने, ‘म त एफ एम रेडियो र टेलिभिजनका काउनडाउनबाट स्थापित भएको कलाकार हुँ। त्यतिबेला युट्युब थिएन। युट्युब हाबी भएको थियो किनभने सिन्डिकेटको कारण। तर बन्द भयो भने पनि मलाई असर पर्दैन। मानिसका विचार बन्द हुँदैनन्।’
उनले थपे, ‘युट्युब चल्दा वा नचल्दा केही फरक पर्दैन। गीत प्रमोसनदेखि व्यापारमा असर पर्ला, तर संगीतको यात्रा कहिल्यै रोकिन्न। हाम्रो स्लोगन नै छ- ‘द सो मस्ट गो अन’ यसको पनि विकल्प निस्किन्छ।’
भदौ २०, २०८२ शुक्रबार २१:०८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।