लुम्बिनीका एक सय ४ स्थानीय तहमा वातावरण निरीक्षक नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : लुम्बिनी प्रदेशका १ सय ४ स्थानीय तहहरूमा वातावरण निरीक्षक नियुक्ति गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले शुक्रवार विपक्षीका नाममा वातावरण निरीक्षक नियुक्ति गर्न आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो।
श्रिना नेपाल, नवीन पौडेल, नबिना घिमिरे, कुशल पौडेल विष्णु गौतम र सर्दासुमन आचार्य लगायतले दायर गरेको रिटमा सर्वोच्चले शुक्रवार प्रारम्भिक सुनुवाइ गरेको थियो। दायर रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय र प्रदेशका १ सय ४ स्थानीय तहलाई विपक्षी बनाइएको थियो।
रिटमा वातावरण संरक्षण निकाय गठन नगरेकाले वातावरणीय सन्तुलनमा प्रतिकूल असर पर्नुका साथै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार हनन भएको दाबी गरिएको थियो। श्रिना नेपाल, नवीन पौडेल,नबिना घिमिरे, तथा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता सञ्जय अधिकारीले रिटको पक्षमा बहस गरेका थिए।
भदौ २०, २०८२ शुक्रबार २०:५३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।