एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की : पोखरामा आजदेखि सुरु भएको दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन्।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा हरायो। कर्णालीले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ ले जित्दै तीन अङ्क जोड्यो।
दोस्रो खेलमा ललितपुर क्विन्सले मधेस युनाइटेडलाई ३-० ले पराजित गर्यो। ललितपुरले पहिलो सेट २५-१७, दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१९ को जित दर्ता गर्दै उत्कृष्ट सुरुआत गर्यो।
प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबीच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबीच हुनेछ। भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेस युनाइटेडबीच हुने तय भएको छ।
भदौ २८ गतेसम्म सञ्चालन हुने लिगमा छ फ्रेन्चाइज टोलीले ‘सिङ्गल राउण्ड रोबिन’ आधारमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणपछि बढी अंक जोड्ने दुई टोली उपाधिका लागि भिड्नेछन्।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको केन्द्र बनाउने सरकारको योजना रहेको बताए। उनले पोखरा क्रिकेट मैदान र फुटबल रंगशालाको स्तरोन्नतिको लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी पनि दिए।
भदौ २०, २०८२ शुक्रबार २०:२५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।