समयमै गुणस्तरीय काम गरे निर्माण व्यवसायीको सुरक्षाको जिम्मा गृहमन्त्रीले लिने

समयमै गुणस्तरीय काम गरे निर्माण व्यवसायीको सुरक्षाको जिम्मा गृहमन्त्रीले लिने

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीलाई पूर्वाधार निर्माणमा गुणस्तरीयता कायम गर्दै काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन्।

निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले ढिलाइ र कमजोर कामका कारण आयोजना लागत बढिरहेको भन्दै चेतावनी दिए। ‘निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,’ मन्त्री लेखकले भने।

उनका अनुसार सार्वजनिक काममा अशान्ति, चन्दा असुली र धम्की जस्ता गतिविधि सहन सरकार तयार छैन। पछिल्लो समय गुणस्तरीय काम नहुनु र आयोजना समयमा सम्पन्न नहुनु मुख्य समस्या बनेको भन्दै उनले यसमा सरकार र निजी दुवै पक्षको सुधार आवश्यक रहेको बताए।

“गुणस्तरीय काम हुन सकेन भने राज्यको धनको अपव्यय हुन्छ, नागरिकले सेवा लिन पाउँदैनन्,” उनले भने, “समयमै काम नहुँदा एउटै आयोजनाको लागत २०० प्रतिशतसम्म बढेको छ।”

गृहमन्त्री लेखकले सरकारी र गैरसरकारी दुवै निर्माणसम्बन्धी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। उनले नीतिगत तथा कानुनी सुधार, सुशासन र दण्डहीनताको अन्त्यलाई वर्तमान सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

“अर्थतन्त्रलाई लयमा ल्याउन स्थायी सरकार आवश्यक छ, त्यसैले दुई ठूला पार्टी मिलेर अहिलेको सरकार बनेको हो,” उनले स्पष्ट पारे।

सो अवसरमा मन्त्री लेखकले सरकारले वर्षौँदेखि रोकिएको ३५ अर्ब रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गर्दै गएको जानकारी पनि दिए।

भदौ २०, २०८२ शुक्रबार १८:०६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।