सरकारलाई योगेशले पनि टेरेनन्, गोदावरीमा खिचेको तस्विर फेसबुकमा पोष्ट

सरकारलाई योगेशले पनि टेरेनन्, गोदावरीमा खिचेको तस्विर फेसबुकमा पोष्ट

काठमाडौं : सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले समेत सामाजिक सञ्जालमा सक्रिय भएको समाचार यसअघि नै आइसकेका छन्।  

यसैबीच सरकारकै नेतृत्व गरिरहेको दल एमालेका सचिव योगेश भट्टराईले समेत सरकारलाई नटेरेको पाइएको छ। उनले केही मिनेट अघि मात्र सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर राखेका छन्। 

शुक्रबारबाट सुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन, गोदावरीमा व्यस्त भट्टराईले कालो चस्मा लगाएर पार्टीका नेताहरूसँग खिचेका तस्विरहरू ‘पोष्ट’ गरेका हुन्। 

एमालेकै नेतृत्व तहमा रहेका नेताहरूले सरकारको कदमलाई साथ दिन जनतासँग आह्वान गरिरहेका छन्। सरकारले समेत २६ वटा सामाजिक सञ्जाललाई करको दायरमा ल्याउने दाबी गर्दै जनताको साथ खोजिरहँदा सरकारमै रहेका नेताहरूले भने उक्त निर्णयको बेवास्ता गर्दै ‘प्रतिबन्धित’ प्लेटफर्महरूको प्रयोगलाई निरन्तरता दिइरहेका छन्।

‘पीएम सेक्रेटेरियट’ नामक आधिकारिक फेसबुक पेजबाट समेत शुक्रबार दिउँसो एमालेको विधान महाधिवेशनसम्बन्धी समाचार र तस्बिरहरू पोस्ट गरिएका छन्।

उक्त पोस्टमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका तस्बिरहरू समावेश छन्। यसअघि बिहीबार राति पनि सोही पेजबाट एमाले सचिवालय बैठकका तस्बिरहरू सार्वजनिक गरिएको थियो।

यति मात्र नभई, सचिवालयले पत्रकारहरूलाई सूचना दिन प्रयोग गर्दै आएको ह्वाट्सएप ग्रुपमा पनि सूचना र तस्बिरहरू निरन्तर सम्प्रेषण गरिरहेको छ। विधान महाधिवेशनका गतिविधिबारे जानकारी दिन सचिवालयले यही ग्रुपको प्रयोग गरेको हो।

सरकारको निर्देशनपछि नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायक तथा वर्ल्डलिंकजस्ता इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धित प्लेटफर्महरू बन्द गर्न थालिसकेका छन्।

भदौ २०, २०८२ शुक्रबार १६:५३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।