सरकारविरुद्ध गरिएको आलोचना दबाएर आफ्नालाई जोगाउन सामाजिक सञ्जाल बन्द गरियो : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल बन्द गरेको आरोप लगाएका छन्।
अध्यक्ष दाहालले वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिएको आलोचना दबाउन, आफ्ना अधिकार सुरक्षित गर्न र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण कायम गर्न निरन्तर कदम चाल्दै आएको आरोप लागए।
‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सर्वोच्च अदालतको आदेशको अपव्याख्या पनि हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रचण्डले यस कदमले केवल अभिव्यक्ति स्वतन्त्रतामात्र होइन, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सञ्चारमा समेत जटिलता र असहजता सिर्जना गरेको बताए।
उनले भने, ‘हाम्रो पार्टी सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा छैन, तर उचित नियमनको पक्षमा छ। संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्वसहित अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत बन्द गर्नु घोर आपत्तिजनक कदम हो।’
उनले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खारेज गर्न जोडदार माग गरेका छन्।
भदौ २०, २०८२ शुक्रबार १६:२२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।