जनताको विश्वास जिते २०८४ सालमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन : अध्यक्ष ओली

जनताको विश्वास जिते २०८४ सालमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं : एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा दृढ भएर उभिएकै कारण जनताबीच एमालेप्रतिको विश्वास बढेको दाबी गरेका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एमालेले कसैसँग सम्झौता नगरी सदैव जनताकै पक्षमा उभिएको बताए। ‘नेपाली जनताले कठिन परिस्थितिमा पनि हामीलाई साथ दिएका छन्, हामी समृद्ध नेपालको दिशामा मिसन ८४ अघि बढिरहेका छौँ,’ उनले भने।

गाली-गलौजले एमालेलाई कमजोर बनाउन सक्दैन। बरु जनताकाबीच पुगेर विश्वास जित्न सके २०८४ सालको निर्वाचनमा पार्टीलाई बहुमतबाट कसैले रोक्न नसक्ने उनको दाबी छ।

सामाजिक न्याय, समानता र विकासलाई लक्ष्य बनाएर समाजवादतर्फ अघि बढिरहेको उल्लेख गर्दै ओलीले भने, ‘अपेक्षाअनुसार विकास भएको छैन भन्ने गुनासो होला, तर परिवर्तनकारी हस्तक्षेपमार्फत नयाँ समाज निर्माण गर्ने हाम्रो अभियान निरन्तर छ।’ 

एमाले आज निर्णायक राष्ट्रिय शक्ति बनेको दाबी गर्दै उनले पार्टीमा महिलाको सहभागिता र योगदान विशेष रहेको बताए। ‘सबै मिलौँ, पार्टीलाई अझ सुदृढ र लोकप्रिय बनाऔँ,’ ओलीले कार्यकर्तालाई आह्वान गरे।

उनले कार्यकर्ता र जनताले दिएको विश्वासकै कारण आन्दोलन र परिवर्तन हाँक्न सक्ने शक्ति पार्टीले प्राप्त गरेको भन्दै आगामी दिनमा अझ सजग रहन आग्रह गरे।

भदौ २०, २०८२ शुक्रबार १४:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।